
महिला अधिकारका लागि पुरुषको भूमिका आवश्यक
आज मार्च ८, अर्थात अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् १९१० मार्च ८ का दिन क्लारा जेट्किनको अगुवाइमा अन्तर्राष्टिूय महिला सम्मेलन सम्पन्न भएको थियो ।
सो दिनमा महिला अधिकार, महिला संरक्षण, महिला मुक्ति, महिला विकास, महिला सशक्तिकरण, जागरण, महिला समावेशिता, महिला समानता, समान कामको समान ज्याला, महिलालाई राजनीतिक अधिकार, शैक्षिक अधिकार लगायतका विभिन्न घोषणा भएको दिन हो यो ।
यही सम्झनामा हरेक बर्षको मार्च ८ का दिनमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
महिला प्रकृति हुन्, प्रकृति अर्थात सृष्टिकर्ता हुन् । महिला देवी अर्थात महिला शक्तिकी स्रोत हुन् ।
महिला व्यक्ति एक भए पनि स्वरुप अनेक हुन् । महिला कसैकी आमा, कसैकी छोरी, कसैकी श्रीमती, कसैकी बुहारी, कसैका दिदी, कसैकी बहिनी, कसैकी गुरुआमा भएर विभिन्न भूमिकामा महिला अग्रणी छन् ।
नेपाली परिवेशमा भन्नुपर्दा गृहिणीका रुपमा महिलाले घरका तमाम काम सिध्याउनु पर्छ । कतै पूजाआजा गर्नुपर्दा सर्जाम जुटाउने, भान्सा उठाउने, कतै सामाजिक काम गर्नुपर्दा आमा समूुह, महिला समूहकी सक्रिय सदस्य बनेर श्रमदान गर्ने, जुवातास, जाँडरक्सी जस्ता विकृति हटाउने अभियन्ता बनेर उनै प्रस्तुत हुने गर्छन् ।
यति गर्दा पनि समाजमा महिलामाथि हेर्ने दृष्टिकोणमा विभेद छ । अनुशासन, इमान्दारिता, शिष्टतामा पुरुषभन्दा उनीहरु अगाडि हुन्छन्, तथापि रोजगारीको अवसर कम हुन्छ । पाए पनि समान कामको समान ज्याला पाउँदैनन् । कतिपय अबस्थामा पुरुषबाट बारम्बार अपमानित तथा हिंसाका शिकार हुन बाध्य हुन्छन् ।
यस्तो अवस्थाबाट पार पाउनका लागि महिलाहरुले बर्षौदेखि पहल गरिरहेका छन् ।
महिला अधिकार सम्पन्न हुन महिलाले मात्र पहल गरेर पुग्दैन, पुरुषको साथ, समर्थन र सहयोग पाउनुपर्छ । महिलाको हक, अधिकार सुनिश्चितताका लागि पुरुष पनि उदार हुनुपर्छ, तत्पर हुनुपर्छ ।




