| बुधबार, अशोज ६, २०८३

होटल संघको किचलो मिलाऊ

चरम किचलोपछि शनिबार भएको अधिवेशनले गोरखा होटलसंघको अधिवेशनले नया कार्यसमिति पाउन सकेन । सबै पदाधिकारी निर्बिरोध भएर पनि अध्यक्ष पदमा सहमति जुट्न नसक्दा संघले नेतृत्व पाउन नसकेको हो ।
विधानतः अघिल्लो कार्यकालमा पदाधिकारी भएकोले मात्र अध्यक्ष बन्न सक्ने भन्ने साबिकका अध्यक्षको अडान रह्यो भने यसअघि नेतृत्व चयन गर्दा सहमतिमा चयन गरेकाले यसपटक पनि विधान अक्षरसः पालना गर्नुभन्दा पनि सहमतिमै नेतृत्व चुन्न पाउनु पर्ने फरक मत राख्नेहरुको तर्क बीच तालमेल नमिल्दा विवाद टुंगोमा पुग्न नसकेको हो । गोरखा होटल संघ, होटल व्याबसायीहरुको हक र हितका लागि काम गर्ने संस्था हो । यसले सुमधुर वातावरणमा नेतृत्व चयन गर्नुपर्छ । गठन हुदैमा तनाब सहित गठन भएमा यसले सन्तुलित र स्वस्थ समिति बनाउन सक्दैन । स्वस्थ काम गर्न पनि सक्दैन ।
साधारण सभामा हेर्दा विषयगत संघहरुमध्य सबैभन्दा धेरै संख्या होटल ब्यबसायी संघमा देखियो । यसको अर्थ व्यबसायीहरु धेरै छन् । उनीहरुमा संगठनको खाँचो छ । व्यवसायिक हक र हितका लागि खटेर दिलोज्यानले काम गर्ने छाता संस्था, सर्वमान्य संस्थाको निकै खाँचो छ । त्यसैले स्वस्थ तथा सौहार्द वातावरणमा, सर्वमान्य एउटा चुस्त समिति बनाउनु पर्छ । शनिबार चर्काचर्की भई छुटेदेखि अहिलेसम्म विवादित दुई समूह जुटेर फेरि नयाँ समिति गठनका लागि छलफल तथा बहस गरेको देखिएको छैन । बरु तुरुन्त एक कार्यदल बनाई नयाँ शिराबाट सहमतिको लागि पहल थाल्नुपर्छ । अन्यथा गोरखा होटल संघ लथालिङ्ग भएर जाने देखिन्छ । त्यसैले सवै व्यबसायीहरु जुटेर नयाँ सहमतिका लागि पहल गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्