फुटपाथ व्यबस्थित बनाऊ !
जिल्लामा प्रकाशित पत्रपत्रिकामा फुटपाथको बारेमा लेखिएको समाचारको पत्रिका सडकमा ओछ्याउने हो भने हरमटारीदेखि बसपार्क छोपिन्थ्यो । समाचार लेखेर मात्रै समस्या समाधान हुने भए फुटपाथ अस्तव्यस्तको समस्या उहिल्यै समाधान भइसक्थ्यो । तर फुटपाथको समस्या समाधान गर्ने निकाय भनेको नगरपालिका र सहयोग गर्ने निकाय भनेको नेपाल प्रहरी तथा टूाफिक प्रहरी हो ।
यी निकायले समस्या समाधान गर्न नखोजेको पनि होइन, गर्न नसकेको हो । बेलाबेला फुटपाथ समस्या समाधान गर्ने पहल भएको देखिन्छ । प्रहरी खटेको पनि देखिन्छ । नगरपालिकाले फुटपाथ हटाउने अभियानसहित कर्मचारी खटिएको पनि देखिन्छ तर फेरि केही दिनमा साबिककै अबस्थामा आउँछ ।
अब चाडबाड लाग्दैछ । व्यापार धेरै याम, रिसको बेला वेद पढिदैन भने झै व्यापारको झोकमा नीति नियम कसले हेर्ने ? लुगा तथा खाद्य पदार्थ फुटपाथमा पसारो पारेर व्यापार गर्ने क्रम युद्धस्तरमा बढ्दै जानेछ । यसो हुँदा यात्रुलाई सास्ती हुनेछ । त्यसैले बेलैमा ख्याल राखी नगरपालिकाले फुटपाथ व्यबस्थित बनाउने, यात्रुलाई सेवा दिने, नगर सुन्दर बनाउने काममा पहल कदमी लिनुपर्छ ।
अनि प्रहरी, टूाफिक प्रहरीले पनि कडाइका साथ फुटपाथ क्लियर पार्ने काममा तदारुकता देखाउनु पर्छ ।
काम गर्ने दुई तरिका हुन्छन् । भित्र मनैदेखि र झारा टार्ने पाराले वा देखावटी पाराले । दोस्रो किसिमको काम नतिजामुखी होइन । जागिर खाने, समय बिताउने प्रयोजनका लागि मात्र हुनेछ ।
फुटपाथ क्लियर पारेर नगर सफा बनाउन पहिलो दायित्व टोलबासी, टोल विकास संस्था, त्यसपछि नगरपालिका अनि प्रहरी सबै मिलेर लाग्नुपर्छ ।




