किन रोकियो, काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया ?
जब गोरखामा नयाँ प्रमुख जिल्ला अधिकारी आए, उनको पहिलो उद्घोष थियो, काम नगर्ने ठेकेदारलाई तह लगाउनेछु । संयोगबश, गृहमन्त्रीले पनि काम अलपत्र पार्ने ठेकेदारालाई कारबाही गर्न थाले । चारबर्षदेखि स्वास्थ्यचौकी निर्माणको काम अलपत्र पार्ने वडा अध्यक्ष समेत रहेका एक निर्माण व्यबसायीलाई पक्राउ गरी उद्घोष कार्यान्वयनमा लागेपछि सबैले सोचे, अब धमाधम निर्माणको कामले गति लिनेछ । तर यो जोश, उत्साह एक महिना पनि टिकेन ।
बारपाक जाने सडकको तेस्रो प्याकेजेको कामको जिम्मा लिएका लोहनी एण्ड ब्रदर्श कम्पनीले पनि काम सुरु गरेन, चारपाँच बर्षदेखि पुरिएर रहेको सोतीको पुलको जग माथि उठ्न सकेन, पन्थडिही, कटहरे, हर्मी सडकको पनि स्तरोन्नती भएन ।
केन्द्रस्तरमा गृहमन्त्री बादल र भौतिक पूर्वाधार मन्त्री महासेठ बीच द्वन्द्व चल्यो । महासेठको संरक्षण पाएपछि गृहमन्त्रीको भन्दा ठेकेदारका नेताको हुंकार ठूलो सुनिन थाल्यो । गृहमन्त्री पनि चुप बसे । त्यसको असर जिल्लामा पनि प¥यो । नियन्त्रणमा लिनु त परको कुरा,कार्य प्रगति २० प्रतिशतभन्दा कम हुने कुनै ठेकेदारलाई बोलावट पनि भएन ।
नयाँ सरकारको फरकपनको संकेत, नयाँ सिडियोको फरकपनको संकेत बिलय भयो ।
एउटा उद्घोष बिलय हुनुको असर त्यस क्षेत्रमा मात्र नभै दीर्घकालीन पर्नसक्छ । पहिले पनि यसो भनिएको थियो, हुन सकेन भनेर कसैले पनि विश्वास नगर्न सक्छन् । त्यसैले घोषणा कार्यान्वयनतिर ध्यान दिनुपर्छ । एउटा ऐजेण्डामा पछि परेपछि अरु एजेण्डा माथि उठाउन मुस्किल पर्नेछ ।




