| शनिबार, बैशाख ८, २०८१

किर्ते गर्नेहरु नउम्कुन् !

पालुङटार १ खोप्लाङको वडा कार्यालयमा कार्यालय सहायक पदमा नियुक्तिका लागि दरखास्त दिँदा एक महिलाले आफ्नै बहिनीको प्रमाणपत्र, लब्धांकपत्र पेश गरिन् । वडा कार्यालयले उनकै नाम निकाल्यो ।
पद त सानै हो, वडा कार्यालयको पियन पद, तैपनि किर्ते गर्नु ठूलो अपराध हो । एउटा गल्ती छोप्न खोज्दा धेरै गल्ती हुन्छन् । घट्दैन बरु बढाउँछ । किर्ते धेरैवटा कागजमा भएको छ । पहिलो, बहिनी हिरा बानियाँको नामको चारित्रिक प्रमाणपत्रमा विन्दबासिनी माविले दिदी कविता खड्काको फोटो टाँसेको छ । २०६७ सालमा पास गरेको जिल्ला स्तरीय परीक्षाको लब्धांकपत्रमा मिति २०७४ साल लेखिएको छ । दोस्रो, कविता खड्का र हिरा बानियाँ एउटै व्यक्ति हुन् भनी वडा कार्यालयले प्रमाणितका लागि सिफारिस गरेको छ । जब कि नाम र थर दुवै फरक छ । जन्म मिति पनि हिरा बानियाँको २०४९ साल छ कविता खड्काको जन्ममिति २०४५ साल छ । नाम थर, जन्म मिति सबै फरक भएका दुई फरक ब्यक्तिहरु एउटै हुन्छन् ?
मार्कसिट बनाइदिने नारेश्वरको विद्यालय, एउटै व्यक्ति हुन् भनेर प्रमाणितका लागि सिफारिस बनाइदिने वडा कार्यालयले त गल्ती गरे, जिल्ला प्रशासन कार्यालयले पनि यति धेरै भिन्नता भएका कागजातको अध्ययन नै नगरी प्रमाणित गरिदिएको छ ।
यी फर्जी कामको बारेमा राम्ररी छानबीन हुनुपर्छ । कविता खड्कालाई जागिर खुवाउने मनाशय राखी गरिएका यस्ता किर्ते कागज बनाउनेहरुको चक्रव्यूहमा प्रशासन कार्यालयलाई समेत फँसाउने काम भएको छ । त्यसैले यस घटनामा मुछिनेहरुको बिषयमा छानबिन हुनुपर्छ । ऐन, कानूनमा उल्लेख भए बमोजिम कारबाही पनि हुनुपर्छ ताकि अबदेखि कसैले यस्ता गलत काम नगरुन् ।

प्रतिक्रिया दिनुहोस्