| बुधबार, अशोज ६, २०८३

कानूनी राज्यको आभाष गराऔं

काशिगाउँ घटना साम्य भएको छैन । काली गुरुङ र परिवारमाथि बोक्सीको आरोप लगाइयो । बोक्सी लागेर मरेको भन्दै गत साउन ११ गते चिहानडाँडामा एक शव चिरियो । संलग्नलाई कारबाहीको माग गर्दै पीडित परिबारले प्रहरीमा किटानी उजुरी दिए । उजुरीको आधारमा अनुसन्धान गर्न गएका प्रहरीटोलीमाथि नै गाउँलेले कुटपिट गरे । पीडित परिबारमाथि पनि आक्रमण भयो । सहजीकरणको भूमिका निर्बाह गरेका जनप्रतिनिधि पनि कुटिए ।
सुन्दर, शान्त र रमणीय गाउँ भनेर चिनिएको काशिगाउँलाई यो घटनाले बद्नाम गरेको छ । कसैमाथि कुनै आरोप लाग्यो भने राज्यले उसलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने अधिकार राख्छ । तर अनुसन्धान गर्न नै नदिई चौतर्फी आक्रमण गरेर अराजक स्थिति निम्त्याउने दुश्साहस गर्नु पटमुख्र्याइँ हो, कानूनी राज्यको उपाहास हो ।
कुनै व्यक्तिको शवलाई संस्कार, संस्कृति विपरीत, अनुमति बेगर काट्नु अवाञ्छित काम हो । बोक्सी आरोप लगाउनु अर्को कानूनको उल्लंघन हो । एउटा गल्ती छिपाउन जताततै गल्ती गरेर काशिगाउँका केही उच्छृङखल समूहले गाउँको बदनाम गरेका छन् ।
गाउँलेले सहीलाई सही र गल्ती कमजोरीलाई गल्ती कमजोरी नै हो भन्न सक्नुपर्छ । लुकाउन छिपाउन लाग्नु, यसको मतियार बन्नु र रुलअफ ल लाई हुल अफ ल गराउन खोज्नु हुदैन । गाउँका जान्नेसुन्नेले पनि यस्तो कामलाई प्रेरित गर्नुहुदैन ।
पहिले कुनै समय थियो, गाउँको अनकण्टारमा हुने गरेका घटनामा राज्यको पहुँच पुग्दैनथ्यो, सूचना, जानकारी हुन्नथ्यो छिप्थ्यो । तर अहिले त्यो परिस्थिति छैन । राज्यको पहुच बिस्तार भएको छ । स्थानीय सरकार छ । यो अबस्थामा राज्यले अवलम्बन गरेको कानूनको ससम्मान परिपालना गर्नु, गराउनुपर्छ । कोही नेता बनिटोपलेर दोषीको बचाउ गर्न तम्सिन्छ भने उसको पनि निगरानी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्