पुरातात्विक सम्पदाको संरक्षण सबैको दायित्व
‘उहिलेको कुरा खुइले’ भन्ने नयाँ पुस्ताको उरण्ठेउलो उक्ति छ । अधिकांश नयाँपुस्ताले पुराना कुराको संरक्षण गर्नुपर्छ भन्नुभन्दा पनि नयाँ विकासको चाहना गरिरहेको पाइन्छ । पछाडि फर्केर हेर्ने होइन, अघि बढ्ने हो भन्ने उनीहरुको चाहना हुन्छ । पुराना कुरा मैलाधैला हुन्छन्, नयाँ कुरा चुस्त हुन्छन् भन्ने मान्यता पनि रहेको हुनसक्छ ।
नयाँतिर मात्र, अघितिर मात्र भौतारिरहँदा प्राचीन सम्पदा, प्राचीन सभ्यता संकटमा पर्छन् । त्यसो हुन नदिनु पनि हामी सबैको दायित्व हो । गोरखा जिल्लाको प्रसिद्धि यहाँको ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदासंग जोडिएको छ । गोरखामा पर्यटक किन आउँछन् ? यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदा अवलोकन गर्न आउँछन् । त्यसैले यसको जगेर्ना गर्नु आम गोरखाबासीको दायित्व हो ।
हामीले देख्ने जतिपनि मठमन्दिर, दरबार लगायतका संरचना देख्छौं ती वर्तमानका होइनन् प्रचीनकालमै बनेका हुन् । त्यत्रो संरचना अहिले बनाउन सहज छैन कठिन छ । त्यसैले त्यस्ता धरोहरलाई अतिक्रमण गर्ने होइन, संरक्षण गर्नुपर्छ । ती संरचना हाम्रा सम्पदा हुन् ।
पुराना सम्पदाको संरक्षण गर्ने निकाय पुरातत्व बिभाग हो । गोरखामा पुरातत्व बिभागको कार्यालय छैन । दरबारको संरक्षण दरबार हेरचाह अड्डाले गर्छ तर सो अड्डाले सिँडी, वुद्धिबल राना जस्ता ऐतिहासिक पुरुषको घरको संरक्षण गर्ने दायित्व आफ्नो सम्झिएन । गोरखा दरबारको जगको संरचनाको रेखदेख गर्ने, त्यसको पक्षमा पैरवी गर्ने दायित्व पनि सम्झिएन । यो दुखद भयो । सरकारी निकाय होस् वा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति जस्ता सामाजिक संस्था छन्, तिनले पनि यस्ता सम्पदाको संरक्षण गर्नुपर्छ ।




