| सोमवार, कार्तिक २३, २०८३

उत्पादनमात्र होइन, बजारीकरणलाई पनि जोड देउ

अचेल व्यवसायिक कृषि पेशाको बिषयमा जताततै आवाज उठिरहेको छ । राजधानी सहरका छेउकुनामा हेर्ने हो भने किसानहरुले व्यवसायिक तरकारी खेती तथा पशुपंक्षी पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । राजधानीबाहेक अन्य ठूला सहरका छेउकुनामा पनि यस्तो दृश्य देखिन्छ ।

गोरखाकै गण्डकी गाउँपालिका ६, ७ र ८ का फाँट तथा पाखो बारीमा पनि यतिबेला टनेलभित्र तरकारी खेती गरेको निकै आकर्षक दृश्य देखिन्छ । यो दृश्यले हाम्रा किसानहरुले पनि राजधानी सहरको छेउकुनाका किसानहरुले जस्तै कमाइ गरिरहेका छन् कि भन्ने भ्रममा पर्छौँ तर यथार्थ त्यस्तो छैन । बाहिर देखिने संसार, बाहिर देखिने जीवन र जगत र यथार्थ फरक हुन्छ । किसानले सडकमा गोलभेँडा पोखेको, दूध पोखेको, कांक्रो त्रिशुलीमा बगाएको दृश्य पनि सबैले देखेकै हो । यसको कारण उत्पादन होइन, बजारसित जोडिएको छ ।

उत्पादनका पक्षमा सरकारी, गैरसरकारी निकायहरुले पनि वकालत गर्छन्, प्रोत्साहन गर्छन्, त्यसबाट प्रेरित भएका किसानहरु तन, मन, धन लगाएर उत्पादनमा लीन हुन्छन्, तर उत्पादन भएपछि बजार नपाएर हैरान भएका धेरै उदाहरण छन् । यसबाट निरुत्साहित भएका, व्यवसायबाट बिलय भएका उदाहरण पनि छन् ।

त्यसैले सोचनीय विषय यो छ कि, उत्पादन मात्र गराएर हुदैन, उत्पादित बस्तुलाई बजारसम्म जोड्न पनि किसानलाई सहायता चाहिन्छ । यसको काम पनि पालिका, पालिकाभित्रको कृषि शाखा, जनप्रतिनिधि तथा नेता वा समाजसेवीको सहायता चाहिन्छ ।

पालिकाहरु अहिले पनि विभिन्न खेती बालीका बिउ बिजन बाँड्छन् । संघसंस्थाहरु पनि बिउ बाँड्छन् । यसबाट प्रेरित भएर किसानहरु खेती गर्छन्, तर बजार नपाएर हैरान हुन्छन् । त्यसैले अब खेती गर्न प्रेरित गर्ने मात्र होइन, अब त्यसलाई बजार दिने व्यवस्था पनि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्