| सोमवार, कार्तिक २३, २०८३

टुक्रे योजना कटौति गर्ने गण्डकी गाउँपालिकाको अभ्यास

देशमा वितरणमुखी कार्यक्रम गरेर बजेट फासफुस गर्ने पालिकाहरु धेरै छन् । अथवा पालिकाले व्यवस्थित गर्न नसकी आएको बजेटजति दामासाहीले वडाहरुमा बाँडेर तमाम गर्नेहरु पनि छन् । अथवा साना साना योजना बनाई कनिका छरेझैँ बजेट छरेर सक्नेहरु पनि छन् ।

यही भीडमा गोरखाको गण्डकी गाउँपालिकाले फरक अभ्यास गरेको छ । सो पालिकाले हरेक वडामा कम्तिमा ५०÷५० लाखको एक/एक वटा गौरवको योजना तर्जुमा गर्नै पर्ने व्यवस्थाको सुरु गरेको छ । यसो गर्दा गतबर्ष सातसय ३६ वटा योजना रहेकामा यसबर्ष यो संख्या घटेर चारसय ८६ योजना बनेका छन् ।

८ वटा वडा रहेको गण्डकी गाउँपालिकामा हरेक वडालाई पालिकाले एककरोड १० लाखदेखि एक करोड ३५ लाख रुपैयाँसम्मको सिलिङ दिएको थियो । जसमध्ये एउटा योजना कम्तीमा ५० लाखको हुनुपर्छ । सबै वडामा त्यसरी नै कार्यक्रम बनेर अहिले काम पनि धमाधम सुरु भइसकेको छ ।

साना र टुक्रे योजनामा बजेट बिनियोजन गर्दा एकवर्ष गरेको कार्यक्रम अर्कोवर्षै नदेखिने हुन्छ । त्यसैले बरु थोरै योजना गर्ने तर देखिने गरी ठूलो योजनाको काम गर्ने सो पालिकाले अभ्यास गरेको छ । हरेकवर्ष कम्तीमा एउटा÷एउटा देखिने योजना छनौट भयो भने, अथवा हरेक बर्ष एउटा एउटा मात्र देखिने काम भयो भने पनि पाँच बर्षमा त्यो पालिकामा धेरै ठूलो परिवर्तन आउन सक्छ ।

यसबाट सकारात्मक नतिजा पाएपछि पालिकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिने पनि निश्कर्ष निकालेको छ । गण्डकी गाउँपालिकाको यस कार्यको सबैले प्रसंसा गरेका छन् । अरु पालिकाहरुले पनि यो अभ्यासबाट सन्देश लिने कि ?
रचनात्मक क्षमता आफैमा भए झनै राम्रो, रचनात्मक क्षमता नभए पनि अरुको देखासिकीबाट भने पनि सकारात्मक काम गर्नु श्रेयस्कर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्