
निराशा लाग्दो सहकारी संस्थाको हबिगत
गोरखामा सबै प्रकृतिका गरी अहिले पाँचसय ३३ वटा सहकारी संस्था अभिलेखमा छन् । तीमध्य चारसय ७५ वटा पालिकामा दर्ता भएका हुन् भने बाँकी ५६ वटा गण्डकी प्रदेशको सहकारी विभागमा दर्ता भएका हुन् ।
सहकारीको मर्म र भावना, मूल्य र मान्यताअनुसार जम्मा दुईसय ८२ वटा सहकारी संस्था अस्तित्वमा छन् । दुईसय ५१ वटा सहकारी अहिले अस्तित्वमा छैनन् । गण्डकी प्रदेशको सहकारी विभागमा गोरखाका ५६ वटा सहकारी दर्ता भएकामध्य १६ वटा मात्र नीति, नियम, विधि, विधानअनुसार चलेका छन् । बाँकी ४० वटा मृतप्राय छन् ।
जिल्लाको सहकारीको दृश्य यही अनुपातमा छ । अर्थात एकतिहाइ सहकारी तहसनहस भएका छन् । बन्द हुनेमा एनजीओहरुले गठन गरेका र अनुदान पाउने स्वार्थका लागि गठित सहकारी संस्थाहरु अधिक छन् ।
सहकारीको मर्म र भावना नबुझेका संचालकले चलाएका सहकारीहरु प्राय सबै डुबेका छन् । कैयौँ सर्वसाधारण सहकारीमा हजारौँ, लाखौं रुपैयाँ डुबाएर बस्न बाध्य छन् । रहर र होडबाजीमा च्याउ झै सहकारी उमार्ने, कुशल व्यवस्थापन नगरेका कारण सहकारीहरु ओह्रालो लागेका हुन् । च्याउ झैँ सहकारी जन्माउने, एउटै मान्छे ऋण लिने दाउमा धेरैमा बस्ने, बदमासी गर्ने कसैलाई कारबाही नहुने अबस्था विद्यमान छ ।
राम्रा सहकारीलाई प्रोत्साहन र सहकारी डुबाउनेलाई कारबाहीको व्यवस्था भए, च्याउ झैँ उम्रिएका सहकारीहरु मर्ज भए, पालिकाहरुमा बर्षेनी अध्यावधिक गर्नुपर्ने व्यवस्था भए केही सुधार हुन्थ्यो कि ?
आउँदो शनिबार जिल्ला सहकारी संघको साधारणसभा हुँदैछ । किन सहकारी संस्थाहरु भद्रगोल हुँदैछन्, बन्द हुँदैछन् भन्ने बारे साधारण सभामा जल्दोबल्दो एजेण्डा उठ्नु पर्ने हो कि ? सहकारी व्यवस्थित बनाउने कार्यक्रम गर्ने साथै सहकारीलाई सशक्त बनाउन तीनै तहको सरकारलाई घच्घच्याउनु पर्ने हो कि ?




