| बुधबार, अशोज ६, २०८३

विश्व सम्पदा सूचीका लागि पहल गर

चारसय बर्ष पुरानो गोरखा दरबार र गोरखा संग्रहालय रहेको १८० बर्ष पुरानो तल्लो दरबार क्षेत्रलाई समेटी विश्व सम्पदा सूचीमा राख्न पहल गर्नु अहिलेको आवश्यकता हो ।
जहाँतहीँ, जो जसले गोरखाको बारेमा बोल्नु प¥यो भने पर्यटन विकासको कुरालाई पहिलो प्राथमिकतामा राखिहाल्छन् तर पर्यटन विकास गर्न आवश्यक पर्ने मुख्य आधार भनेको नै यहाँको प्राचीन सम्पदालाई विश्व सम्पदासूचीमा राख्नु हो । तर मूल आधार छोडेर फोस्रो भाषण मात्र गरेर पर्यटन विकास हुदैन । कि सर्प मार्दिन भन्नुपर्छ, कि लठ्ठी भाँच्ने हिम्मत गर्नुपर्छ ।
सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भनेर लक्ष्य पूरा हुदैन । यही मारमा छन् पँदेली, ठूलोआँगन, दरबारमार्ग, छहरे लगायतका केही टोलहरु । मानवीय दृष्टिकोणले उनीहरुको समस्या पनि महत्वपूर्ण पाटो हो । तर उनीहरु विश्व सम्पदा सूचीमा लैजानका लागि बाधक होइनन् । समस्या समाधान गर्ने विकल्पहरु पनि छन् । समस्या समाधान गरेर छिटो भन्दा छिटो प्रक्रिया अपनाए त्यस क्षेत्रका बासिन्दाले अबरोध होइन, सहयोग गर्नेछन् । त्यसका लागि सामाजिक अगुवा, नेता, सरकारी निकाय, पुरातत्व बिभाग आदिले तदारुकता देखाउनु पर्छ ।
कुनै बैठक तथा भेलामा त्यस भेगका केही बासिन्दा आक्रोशित भएर बोले होलान्, तर त्यो बोली विश्व सम्पदा सूचीमा जानबाट रोक्ने होइन, ढिलो गरिएकोमा, उनीहरुको घरजग्गा बर्षौंदेखि बन्धक बनाएर राखिएकोमा थियो । गोरखामा आउने पर्यटक, गोरखा दरबार तथा गोरखा संग्रहालय अवलोकन गर्ने मुख्य उद्देश्य सहित आएका हुन्छन् । त्यसैले पनि यसको महत्वलाई उच्च गराउन विश्व सम्पदा सूचीमा राख्नुपर्छ । त्यसैले पर्यटक बढाउन, गोरखाको विकास गर्न यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा दर्ता गराउनु पर्छ । त्यसका लागि सबैको पहलको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्