
महिलाका समस्या उजागर गर्न अधिकारकर्मी कमजोर
महिला हिंसाविरुद्धको १६ दिने अभियान अहिले जारी छ । अभियानअन्तर्गत देशभर महिला हिंसा अन्त्य, अधिकारको स्थापना लगायतका विषयमा विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । गोरखामा पनि विभिन्न पालिकास्तरीय कार्यक्रमहरु दैनिकजसो भइरहेका छन् ।
यसमा विशेषगरी महिला हक अधिकारका लागि अग्रसर सामाजिक संस्थाहरु, सरकारी स्तरबाट सामाजिक विकास कार्यालयहरुले चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
यो क्रम चलेको दसकौँ भएको छ । तर अधिकारकर्मीहरु महिलामा व्यप्त समस्याहरु उजागर गर्न तथा समाधान गर्न असफल छ । औपचारिक कार्यक्रममा रमाइरहेका त्यस्ता संघसंस्थाहरु तथा सरकारी कार्यालय समस्याको जड पत्ता लगाउन, दोषीलाई कडाभन्दा कडा कारबाही गर्न दबाब दिन, त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन सफल छैनन् ।
सफल त परको कुरा, महिलामा व्यप्त हिंसाका घटना खोज्न र त्यसलाई निष्कर्शमा पु¥याउन चासो समेत दिँदैनन् । समस्या समाधान गर्न भाषण गर्नभन्दा धेरै झञ्झटिलो र त्यसबाट आफ्नाहरु समेत प्रभावित हुन्छन् भन्ने त्रासले उनीहरु भाषणभुषणका कार्यक्रममै खुम्चिरहेका छन् ।
कालिकोटमा कुनै महिला हिंसासम्बन्धी घटना भयो भने यहाँका महिलाहरु विरोध जुलुसमा लामवद्ध हुन्छन् । कञ्चनपुरमा कुनै महिला हिंसाका घटना भए भने यहाँ त्यसको राप, ताप लाग्छ, तर गोरखामै त्यस्ता घटना भए भने कानमा तेल हालेर बस्छन् । यो निकै दुखद बिषय हो ।
बाहिरको घटनामा चर्का स्वरमा भाषण गर्दा त्यो भाषणमै सीमित हुन पाइन्छ । गोरखाकै घटनामा चासो राख्दा त्यसलाई पार लगाउने झञ्झट बेहोर्नुपर्ने हुन्छ । सुख छाडीछाडी दुख बेसाउन कसले चाहन्छ र ? त्यसैले पनि हुनसक्छ, गोरखामा भएका महिला हिंसाका धेरै घटना मिडियाले उजागर गर्दा पनि (महिला)अधिकारकर्मी व्यक्ति तथा संस्था तैँ चुप मै चुप भएर बस्छन् । यो बिडम्बना हो ।




