| बुधबार, असार ९, २०८३

विनाश निम्त्याउने विकास नगरौं

केन्द्रीय तथा स्थानीय तहको अधिकांश विकास बजेट बिगत दुईदसकदेखि सडक निर्माणमा खर्च हुने गरेको छ । आवश्यक अनावश्यक बिभिन्न ठाउँमा सडक निर्माण भएका छन् । खनिएका सडकलाई प्रबलीकरण गर्नुभन्दा पनि नयाँ ठाउँमा टूयाक खनेर बीस बर्ष बितेको छ ।
विकासको पूर्वाधार सडक हो, यसमा दुईमत छैन तर खनिएका सडकलाई स्तरोन्नती गर्नु जरुरी हुँदा हुदै त्यो भन्दा धेरै नयाँ सडक निर्माणमा बजेट खर्च भइरहेको छ । सडकमा घर बनाउनु पर्नेमा घरमा सडक लैजाने परम्पराले अधिकांशमा घर गरेको छ । यसले विकास भन्दा विनाश धेरै गरेको छ ।
कतिपय ठाउँमा सामुदायिक वन उपभोक्ता समितिकै अगुवाइमा वन विनाश हुने गरी वनभित्र सडक निर्माण भएका छन् । कतिपय ठाउँमा जोखिम भीरपाखाको पर्वाह नगरी सडन निर्माण भएका छन् । त्यसको परिणाम अहिले देखिन थालेको छ । कतिपय गाउँहरु पहिरोको मुखमा परेका छन् । कतिपय वनपाखा पखेरा पहिरिएका छन् । कतिपय बारी नै पहिरोको चपेटामा परेका छन् । विकासतिर मात्र होइन, दीगो विकासतिर सबैको ध्यान जानु पर्छ । विकास गर्दा त्यसको नकारात्मक असर अन्यत्र नपर्ने गरी, सकेसम्म कम पर्ने गरी गर्नुपर्छ । त्यो नै वुद्धिमानी हो । तर प्राकृतिक सम्पदाको पर्वाह नगरी सडक निर्माणको काम भइरहेको छ । यसतर्फ समाजका सचेतबर्गले ध्यान दिनुपर्छ । साबधानी पूर्वक विकास निर्माणको काम गरेमा विकास पनि हुनेछ, विनाश पनि कम हुनेछ । यसरी हुने विकास नै दीगो विकास हुनेछ । त्यसैले जुनकुनै काम गर्दा सुझबुझका साथ गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्