काठेपोल चाँडै बिस्थापित गर
दुईबर्षअघि तत्कालीन स्थानीय विकास मन्त्री हितरात पाण्डेले आफूले चुनाव जितेको गोरखा २ लाई काठेपोलमुक्त क्षेत्र बनाउने लक्ष्यले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सबै बजेट बिनियोजन गर्ने प्रस्ताब गरे । तत्कालीन सबै सांसदले होस्टेमा हैंसे गरे प्रस्ताब अनुमोदित भयो । सो शीर्षकको सबै बजेट फलामे पोल खरिद गर्ने निर्णय भयो । विद्युत प्राधिकरणले पनि फलामे पोल बिस्थापित गर्ने लक्ष्यका साथ ठूलो परिमाणमा फलामे पोल खरिद गरेको छ । तत्कालीन जिविसले पनि विद्युत रोयल्टीबापतको रकमबाट ठूलो परिमाणमा विद्युत पोल खरिद गरेको छ । विद्युत पोल खरिदको निर्णय भएको दुईबर्ष बितिसकेको छ । कतिपय पोल आए, कतिपय आउनै छन् । तर बिडम्बना अहिलेसम्म पनि काठेपोलकै कारण बेलाकुबेला विद्युत अबरुद्ध भइरहेको छ । विद्युत पोल खरिदमा घोटालाको बिषयमा बिभिन्न वृत्तमा ठूला ठूला स्वरमा बहश नहुने गरेका होइनन् । तर जरोकिलो फेला पार्न नसकेर तथ्य भेटिएको छैन, सञ्चारमाध्यमहरुमा आउन सकेको छैन ।सर्बसाधारण जनताको चासो यता भन्दा पनि बेला कुबेला झ्याप्पझ्याप लाइन जाने समस्यामा छ । लोडसेडिङमुक्त घोषणा भइसक्दा पनि यसरी लाइन जानु दुखद छ । यसले गर्दा, सर्बसाधारण नागरिक पावर वैंक, युपिएस, ब्याटूी, इन्भर्टर, इमर्जेन्सी लाइट जस्ता उपकरण किन्न बाध्य छन् ।नीति र निर्णयचाहिँ गर्ने, कार्यान्वयन पक्षचाहिँ लोभलाभले गर्दा ढिलाइ हुने हुँदा यस्तो समस्या झेलिरहनु परेको हो । तसर्थ सर्बसाधारण नागरिकको भलाइमा हानी हुने गरी लोभलाभको चक्कर छाडेर काम गर्दा बेश हुनेछ । उज्यालो नेपाल अभियानलाई सफल पार्न सबैको एकताको खाँचो छ ।




