
उम्मेदवारले मतदातालाई सुन्ने कहिले !
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेर तिब्र तयारी गरेसँगै गाउँगाउँमा चुनावी रौनक बढ्न थालेको छ । निर्वाचन आयोगले कात्तिक १७ गतेबाट मात्रै खुल्ला रुपमा चुनावी कार्यक्रम र प्रचारप्रसार गर्न पाउने नियम बनाएको छ । ठुला सभा सम्मेलन, भेला, प्रचार प्रसार गर्न नपाउने भएपछि अहिले उम्मेदवारहरु घरदैलोमा मतदाता भेटघाटमा ब्यस्त छन् । गोरखाको गाउँगाउँमा मानिसहरुको चहलपहल बढेको छ ।
बिभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरु कुनै न कुनै रुपमा चुनावी प्रचारमा खटिएका छन् । राजनीतिक दलहरुले गाउँटोलका नेता कार्यकर्ता मार्फत मानिस भेला गरेर बाक्लो बस्ती, गाउँ टोलमा पुग्ने, आफ्ना कुरा राख्ने गरिरहेका छन् भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाले पनि सर्वसाधारणलाई भेटघाट गर्दै आफ्ना योजना सुनाईरहेका छन् ।
मतदातालाई प्रत्यक्ष भेट्ने योजना सहित उम्मेदवारले अहिले चुनाव प्रचार गरिरहेका छन्, आफुलाई मत मागिरहेका छन् । खुल्ला ठुला सभा सम्मेलन गरेर चुनाव प्रचार गर्ने अवधी अहिले भएको भए उम्मेदवार टोलटोलमा नपुग्न सक्थे । सभा सम्मेलन गर्ने, संवोधन गर्ने फर्कने गरेर समय बिताउँथे । निश्चित समय चुनाव प्रचार गर्न पाउने अवधीले उम्मेदवार र मतदाता बिचको भेटघाट बढाएको छ । सबैले नपाएपनि अधिकासंले उम्मेदवार वडामै भेट्न÷देख्न पाएका छन् ।
शिर्ष नेताको आगामनले गोरखामा चुनावी रौनक बढेको छ । उम्मेदवारसँगै गाउँगाउँ जाने केन्द्र, जिल्ला र पालिका स्तरका नेताको लस्कर छ । शिर्ष नेताहरु गाउँगाउँमा पुगेपनि त्यहाँका सर्वसाधारणले सहजै भेट्ने र आफ्ना कुरा राख्न पाएका छैनन् । अन्यत्र जो नेताको वरपर देखिन्छन् उनीहरुले नै नेतालाई घेरेर राखेको देखिन्छ ।
सँधै साथमै हुनेहरु वा सहजै अन्य समयमा पनि आफ्ना कुरा राख्न पहुँच पु¥याउनेहरुले उम्मेदवारलाई घेरेर राख्दा सर्वसाधारणले गाउँ पुगेकाबेला आफ्ना गुनासा सुनाउन पाएका छ्रैनन् । संम्बन्ध प्रगाढ बनाउने नाममा रिझाउन तल्लिनहुनेहरुले पनि मतदातासँग प्रत्यक्ष संवाद गर्न उम्मेदवारलाई रोकेका छन् ।
उम्मेदवार गाउँ पुग्नु, सकेको धेरै मतदाता भेट्नु, त्यहाँको भुगोल, भौतिक अवस्था, सामाजिक संरचनाबारे थाहा पाउनु राम्रो पक्ष हो । आफ्ना कुरा मात्रै राख्नु भन्दा हरेक उम्मेदवारले गाउँका किसानको कुरा सुन्ने समय पनि छुट्याउँदा मतदातालाई आफ्नोपनको अनुभती हुन्थ्यो कि !




