| सोमवार, कार्तिक २३, २०८३

चाडबाडमा सार्वजनिक सवारीमा लुटतन्त्र यथावत

चाडबाडका बेला सार्वजनिक सवारीका क्षेत्रमा असीमित लुटतन्त्र हुने गर्छ । यसबिषयमा कोही पनि अनभिज्ञ छैनन् तैपनि किन यस्तो गतिविधि नियन्त्रण गरिँदैन, आश्चर्यको कुरो छ ।

यसपटक पनि दशै सकिएपछि सहर फर्किनेहरुले असीम सास्ती खेप्नु प¥यो । ग्रामीण सडकमा चल्ने सवारी साधनले उत्तिकै सकसपूर्ण यात्रा गराए, भाडामा दोब्बर दर बढाएर लिए ।

सदरमुकामबाट फेरि काठमाडौँ वा अरु सहर जाने गाडी व्यवसायीले पनि उस्तै ठगी गरे । ठगी मात्र गरेनन्, सकसपूर्ण यात्रा गराए ।
यसबारेमा कैयौँ पटक ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण गराउनु आवश्यक पनि छ्रैन । नियमक निकायको आफ्नै संयन्त्रबाट पनि जानकारी हुन्छ ।

पर्याप्त सवारी साधन हुँदा पनि कृत्रिम अभाव सिर्जना गरी यात्रु कोचाकोच गरी यात्रा गराइन्छ अनि ‘यति भाडा दिए, दे, नदिए ठाउँ छैन’ भनेर अवाञ्छित भाडा तिर्न लगाइन्छ ।

यति मात्र पनि होइन, कतिपय यातायात व्यवसायीहरुले क्यूमा गाडी नचलाएर ‘यति हजारमा रिजर्भ गरे मात्र गाडी चल्छ नत्र चल्दैन’ भनेर अकूत भाडादर कायम गरी यात्रुलाई नै अरु यात्रु खोज्न लगाएर अनावश्यक झञ्झट गराएर पनि कष्टपूर्ण यात्रा गराइयो ।

हरमटारी चोकमै भइरहेका यस्ता अवाञ्छित व्यवहारप्रति नियमक निकायले चासो देखाएन । व्यवसायीसंग संवाद गरी सहज यातायात व्यवस्था गराउन लगाउनु पर्ने थियो, तर नियमक निकाय यसमा चुक्यो ।

यस बिषयमा बर्षेनी ध्यानाकर्षण गराइन्छ । तर कुनै पनि बर्ष कुनै पनि प्रशासकले यस्ता गतिविधि माथि निगरानी हुँदैन । ग्रामीण भेगबाट आएका निमुखा यात्रुहरु सँधै ठगिइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्