ठेकेदार कै पक्षमा हाकिम ?
करिब सात महिनाको लागि लुइँटेल भञ्ज्याङ भच्चेब सडक खण्डको स्तरोन्नती र कालोपत्रेको जिम्मा पाएका ठेकेदारलाई म्याद थप भयो ।
भूकम्पीय आपत्कालीन सहायता आयोजना अन्तरगत ३० किलोमिटर रहेको सो आयोजनाको दुई खण्डलाई नै म्याद थप गरिएको हो । सम्झौता अनुसार चिप्लेटीसम्म अहिले कालोपत्रे हुनुपर्ने भएपनि कालोपत्रेको त परको कुरा स्तरोन्नती पनि हुन सकेको छैन । यस्तै सडकलाई आगामी सात महिनामा काम सम्पन्न हुन्छ भन्दै सरकारी कार्यालयका प्रमुखहरुले ठेकेदारकै पक्षमा म्याद थप गरिदिएका छन् ।
२०१२ को डिसेम्बरमा कामको जिम्मा पाएको अम्मरलामा जेभी र लामा कन्स्ट्रक्सनले २०१८ को जुन अन्तिममा कालोपत्रे गर्नुपर्नेथियो । एशियाली विकास बैंकको ६० करोड ६३ लाख रुपैँयाको उक्त आयोजनाले थपेको समयमा काम सम्पन्न गर्छ भन्ने विश्वास कसरी गर्ने ?
२०१२ को डिसेम्बरमा ठेक्का लगाएर २०१५ मा आएर काम सुरु गरेर फेरी केही समय हराएर आएका ठेकेदारको भर गर्ने ठाउँ छैन । त्यसैले जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका अन्य प्रमुख तथा जनप्रतिनिधीहरुले यसरी ठग्ने ठेकेदारलाई कठघरामा उभ्याएर विकास निर्माणको गतिलाई प्रभावकारी बनाउन पहल गर्नुपर्छ । कतिन्जेल सरकारी तालुकदार अड्डा र ठेकेदारको मिलिमतोमा म्याद थप गर्दै जनतालाई सास्ती र देशलाई विकास निर्माणको गतिमा ढिलाई बनाई राख्ने ?




