| सोमवार, कार्तिक २३, २०८३

बारपाकका दुई किशोर मृत्यूको रहस्यबारे अनुसन्धान होओस्

गत माघ २० गते बारपाक गाउँका दुई किशोरहरु १८ बर्षीय करन घले र उनकै उमेरका सञ्जय घले(साहिँला) हिउँखेल्न जंगल गएका थिए । तर उनीहरु बेपत्ता भए ।

करिब एक हजार घरधुरी रहेको बारपाकका प्रत्येक घरका एकजनाका दरले गाउँलेहरु दिनहूँ खोजीका लागि गए । धामी, झाँकी, तान्त्रिक, जैसीहरुले विभिन्न लेखाजोखा गरे, जोखाना हेरे । अनुमान गरे । अन्ततः उहियाका एक जान्नेले जोखाना हेरेर लोकेशन बनाए अनुसार खोज्दा फागुन १ गते दुवै किशोरहरु मृत अबस्थामा सोम्रेखोलामा फेला परे ।

सो घटना भएको तीन महिनापछि जेठ ४ गते गाउँका एकजनाले मृतकमध्य एक संजय घलेको मोबाइल फेला पारेर घरमा पु¥याउन गए । त्यसपछि मृतकका परिवारले हिउँमा १० दिन पुरिएका आफ्ना छोराको मोबाइल मृत्यू भएको तीन महिनापछि सद्दे अबस्थामा कसरी फेला प¥यो भनेर अनुसन्धान गर्दै जाँदा भदौ महिनामा केही शंकास्पद तथ्यहरु फेला परे ।

त्यसकै आधारमा मृतकका परिबारले घटनाको छानबीनको माग गर्दै प्रहरी गुहारे । प्रहरीले दुई पक्षलाई बारम्बार छलफल गरायो । आरोपीको घर खान्तलासी गर्दा लाइसेन भएका, नभएका बन्दुक, बन्दुक बनाउन प्रयोग हुने कच्चा सामग्री, बारुद, बारुद बनाउन प्रयोग हुने कच्चा पदार्थलगायतका शंकास्पद बस्तुहरु फेला पार्यो । त्यसकै आधारमा प्रहरीले मोबाइल फेला पार्नेसहित तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

उनीहरुमाथि पहिलो घटना भन्दा दोस्रो घटना(शंकास्पद बस्तु फेला पारेको)का बिषयमा अनुसन्धान गर्न भन्दै नियन्त्रणमा लिएर प्रहरीले मुद्दा चलाएको छ ।

मृतकका आफन्तहरुले हतियार काण्ड भन्दा पनि आफ्ना सन्तानको रहस्यमय मृत्यू भएको घटनाको छानबीन गर्न माग गरेका छन् । प्रहरीले गम्भीरतापूर्वक छानबिन गर्यो भने निश्कर्षमा पुग्छ सक्छ । तसर्थ आगामि दिनमा अपराधिक घटना नहोस् भन्नाका लागि अपराधी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्