| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालको स्वर्णिम युग

गोरखा अस्पतालमा अहिले बिरामीको भीडभाड लाग्छ । टिकट काट्नसमेत हम्मेहम्मेको अबस्था छ । सँधै एकबजेसम्म ओपिडी टिकट काटिने यहाँ अहिले तीनबजेसम्म टिकट काट्ने गरिन्छ ।

अस्पतालसमय भन्दा पछिसम्म पनि आवश्यकता अनुसार पेइङ क्लिनिकसमेत चल्छ । सेवाको दायरा बढ्न थालेपछि गोरखा अस्पतालमा बिरामीहरुको चाप बढेको हो । केही समयअघिसम्म गोरखा अस्पतालको गतिविधि सुनसानप्राय हुन्थ्यो ।

अहिले गोरखा अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिँदैछन् । हालसालै मात्र यहाँ हाडजोर्नी तथा नशारोगका बिरामीको उपचार सेवा सुरु गरिएको छ । त्यस्तै मृगौलाको रोगबाट ग्रसित बिरामीहरुलाई निशुल्क डाइलासिस सेवा पनि गोरखा अस्पतालले सुरु गरेको छ । अस्पतालले थाइराइड हर्मोनबाट पैदा हुने समस्या बारे पनि परीक्षण तथा उपचार सेवा दिन थालेको छ ।

यसअघि तीनजना प्राविधिकले मात्र सञ्चालन गरेको ल्याव सेवा अब यहाँ मेडिकल ल्याब टेक्निसियनसहित आठजना प्राविधिकले सेवा दिन थालेका छन् । बिरामी लठ्याउन तालिम प्राप्त जनशक्तिले मात्र सेवा दिने गोरखा अस्पतालमा अहिले दक्ष एनेस्थियोलोजिस्टले सेवा दिन थालेका छन् ।

आकस्मिक रगत दिनुपर्दा समस्या हुने ठानी सामान्य शल्यक्रिया समेत नहुने यहाँ अहिले रक्तसञ्चार केन्द्र(व्लडबैँक) सेवा सुरु भएको छ । जसका कारण साना तथा मझौला खालका शल्यक्रिया(हर्निया, हाइडूोशीलका) पनि अस्पतालमा सुरु गरिएको छ । एकपटकमा एकजनाको मात्र शल्यक्रिया हुने गरेको यहाँ अहिले एकसाथ दुई जनाको शल्यक्रिया पनि हुन थालेको छ । त्यसैले यहाँ बिरामी आउने क्रम बढेको छ भने रिफर गर्ने क्रम पनि घटेको छ ।

यो अबस्थालाई गोरखा अस्पतालको स्वर्णिम युग मान्न सकिन्छ । गोरखा अस्पतालको भर नहुँदा सानो समस्या आइपरे पनि जिल्ला बाहिर जानुपर्ने अबस्थाको अन्त्य हुनु खुशीको कुरा हो । यसलाई अब निरन्तरता दिनु जरुरी छ । त्यसका लागि सबैले आ(आफ्नो ठाउँबाट मद्दत पु¥याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्