| सोमवार, कार्तिक २३, २०८३

धानखेतीमा आत्मनिर्भरता बढाऔँ

इन्टरन्याश्नल राइस रिसर्च इन्स्टिट्यूटका(आइआरआई) अनुसार सरदर एक नेपालीले वर्षेनि झन्डै १३८ किलो चामल खपत गर्छ । पहिले मकै, कोदो र फापर पनि खाने गरिन्थ्यो, अहिले त्यसको खपत घट्दो र चामलको खपत बढ्दो क्रममा छ । हामी एशियामै धेरै चामल खपत गर्ने देशमा पर्छौँ ।

तथ्यांक अनुसार नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुन्छ । विश्वभरि ९० प्रतिशत धानको उत्पादन र खपत पनि एशियाकै देशहरूमा हुने गरेको छ ।

धानको सबैभन्दा धेरै उत्पादन चीन र त्यसपछि भारत, बङ्गलादेश, इन्डोनेशियामा हुन्छ । नेपाल पनि विश्वमा धेरै धान उत्पादन गर्ने २० देशभित्र पर्छ । तैपनि नेपालको खेतबारीमा फलेको अन्नबालीले नेपालीको पेट भर्न नपुगेर विदेशबाट ल्याउँछ ।

साढे तीन दशकअघिको परिस्थिति फरक थियो । पञ्चायतकालको अन्त्यतिरसम्म नेपालले किन्नेभन्दा धेरै खाद्यवस्तु विदेशमा बेच्ने गथ्र्यो । तीसको दशकसम्म त त्यसको निम्ति सरकारले धान, चामल निर्यात कम्पनीनै खडा गरेको थियो ।

दक्षिण एशियामा नेपालको उत्पादकत्व निकै कम छ । समयमा मलखाद र पर्याप्त सिँचाइको अभाव र उर्वर भूमि आवास क्षेत्रमा परिणत हुनुले गर्दा उत्पादकत्व घटेको हो । नेपालमा झन्डै १६ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ । यसवर्ष १४ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि क्षेत्रको उत्पादनमा नेपालमा धानको योगदान १२ प्रतिशत मात्र छ । नेपालमा चैते धान, वर्षे धान र घैया धानको रोपाइँ हुदै आएको छ । नेपालमा ८६ प्रकारका उन्नत र सात प्रकारका रैथाने जातको धानखेती गरिन्छ ।

संसारका ५० प्रतिशत भन्दा ज्यादा जनसंख्याको मुख्य खाना चामल(भात) हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत हुन्छ । विश्वका ७८ भन्दा बढी देशमा आठ सय ६४ थरीका धान खेती गरिन्छ ।

मुख्य खाद्यबाली धान भएर पनि नेपाल धानमा आत्मनिर्भर हुन सकेको छैन । खाद्यबालीमा आत्मनिर्भर हुन सके देश विकासको मुख्य सूचक पूरा हुने थियो ।

प्रतिक्रिया दिनुहोस्