
विदेश लगेर अलपत्र पार्नेलाई कारबाही गर
वैदेशिक रोजगार रहर होइन, बाध्यता हो । स्वदेशको माया नगरेर युवाहरु वैदेशिक रोजगारीमा गएका होइनन् । विदेशमा गएर पनि नेपालको भक्तिगाथा गाइरहेबाट यो पुष्टि हुन्छ ।
नेपालमा काम गर्ने वातावरण छैन भनुँ, सन्दुक रुइत, भगवान कोइराला, महावीर पुनलगायतले नेपालमै बसेर अन्तर्राष्टिूय स्तरको छवि बनाइरहेका छन् । यस्ता नामहरु औंलामा गन्न पुग्ने अरु ज्ञात अज्ञातहरु पनि हुन सक्लान् ।
सफल हुन मिहिनेत र भाग्य दुवै मिल्नुपर्छ । तर यी दुवै मिल्न कठिन छ । जो कोहीको यो मिहिनेत र भाग्य दुवै मिल्दैन त्यसैले रोजगारी मात्रका लागि पनि जेट चढ्न बाध्य हुनुपर्छ ।
कोभिड महामारीले घरबाट बाहिर निस्कन समेत डर लाग्ने बेलामा कैयौँ गाउँहरुबाट युवा, युवतीहरु लाम लागेर भारत पसेका खबरहरु सुनेका हो । गोरखाबाट पनि दलालको सहयोगमा केही युवाहरु दुवई लगायतका देशहरुमा युवाहरु जान बाध्य भए ।
कोभिडको पर्वाह नगरी रोजगारीको पछि लागेर त्यो बेला दुवई पुगे । तर दुर्भाग्यवश, दलालको फन्दामा पर्न गई युवा, युवतीहरुले रोजगारी पाउनु त परको कुरा स्वदेश फर्कन समेत पाएनन् । एकलाख ८० हजार रुपैयाँ दलाललाई चढाएर दुबई पुगेका उनीहरु १५ महिनादेखि त्यहाँ अलपत्र छन् ।
मजबुरीले मजदुरी गर्न बिरानो मुलुक पुगेका उनीहरुले न काम गरेर दाम कमाउन पाए, न घर फर्कन पाए, न गुमेका एकलाख ८० हजार रुपैयाँ फिर्ता पाए ।
सुरक्षित आप्रवासन परियोजना(सामी) गोरखाका अनुसार विदेश लगेर अलपत्र पा¥यो भनेर ४२ वटा उजुरी परेको छ । कैयौँले थाहा नपाएर र कैयौँले सम्बन्ध बिग्रिने डरले उजुरी पनि हालेका छैनन् । नत्र यो संख्या अझै धेरै छ ।
सरकारले त्यसरी समस्यामा परेकालाई उद्धार र समस्यामा पार्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।




