
गुणस्तरीय शिक्षाले गाउँमै टिक्न सक्छन् बालवालिका
गाउँमा विद्यालय नभएपछि चुमनुब्री गाउँपालिकाका अधिकांश गाउँका बालबालिका पढ्नका लागि स्पोन्सर खोज्दै सहर जाने क्रम केही वर्ष यता बढेको छ । काखेबाहेक सबै बालबालिका सहर गएपछि गाउँहरु बालबालिकाबिहिन भएका छन् । पढ्ने उमेरका बालवालिका दुर्गम गाउँहरुमा देख्न मुस्किल पर्छ ।
आफ्ना छोराछोरी साथमै नहुँदा अविभाबकलाई चिन्ता त पर्छ तर त्यो भन्दा धेरै चिन्ता अविभाबकलाई शिक्षाको छ । सन्ततीलाई राम्रो शिक्षा दिक्षा दिनुपर्छ भन्ने चेतनाको बिकास भएको छ । दुर्गम भेगमा स्थानीय स्तरमा त्यो सेवा उपलब्ध छैन । त्यसैले पनि अविभाबकले लामा गुरुहरुको सहयोगमा बालवालिकालाई पढ्न शहर पठाउने क्रम पछिल्लो समय बढेको देखिन्छ ।
शिक्षाको महत्व बारे जानकारी पाएपछि गाउँलेले दुख सहेर पनि छोराछोरी पढ्न पठाउन थालेको स्थानीय अगुवाहरु बताउँछन् । नपढेकाको जिन्दगी हाम्रै जस्तो भीरपाखामा ढुंगामाटो खेलाएर, याक चौँरीसित खेलेर बित्ने हो कि, आफ्नो जस्तै अवस्था सन्तानले भोग्नु नपरोस् भन्ने चाहना अविभाबकले राखेको बताउँछन् ।
चुमनुब्री गाउँपालिकाको शिक्षा शाखाको तथ्यांकमा पालिकाभरि २१ वटा विद्यालय सञ्चालनमा रहेको देखिन्छ । आवासीय भनेर सञ्चालन भएका विद्यालयमाचाहिँ विद्यार्थी संख्या राम्रै छ तर अरु विद्यालय चलेको भने पनि असाध्यै थोरै दुईचार जना विद्यार्थी छन् ।
दुर्गम भेगमा विद्यार्थी संख्या हेरेर शिक्षक दरबन्दी र विद्यालयको कक्षा थप गर्ने परिपाटी बदल्नुपर्छ । स्थानीय सरकारले त्यहाँका विद्यालयको गुणस्तरवृद्धीमा ध्यान दिँदै निशुल्क र सहज शिक्षामा प्रेरित गर्न सक्नुपर्छ ।
आबासिय रुपमा विद्यार्थीले पढ्न चाहेका छन् भने पालिका भित्रै विद्यालयलाई आबासिय बनाउनुपर्छ । तब मात्र भोलिका कर्णधार युवाहरु आफ्नै गाउँठाउँमा बसेर, आफ्नै रहनसहन, परम्परा जोगाउँदै, हिमाली क्षेत्रको मौकितालाई पछ्याउँदै पढ्न पाउनेछन् । यसले तत्काल फाईदा नदेखिएपछि गाउँप्रतिको विद्यार्थीको मोह दिगो रुपमा बढ्ने देखिन्छ ।




