
हानिकारक मनसुन र सम्बन्धित निकायको बेपर्बाह
जे भयो राम्रैका लागि भयो, जे भइरहेको छ, राम्रैका लागि भइरहेको छ र जे हुनेवाला छ, त्यो पनि राम्रैका लागि हुनेवाला छ भन्ने धार्मिक कथन छ । यसैलाई आधार मान्ने हो भने थप चर्चा गर्नु आवश्यक भएन ।
नत्र बिगत तीनबर्षदेखिको मनसुन हानिकारक छ भन्ने किसान तथा अरु सर्वसाधारणको भनाइमा पीडा छ । बर्षा यसकारण लाभदायी छ, जसले सुख्खा धरतीलाई हराभरा बनाउँछ । काकाकुल याम सकिन्छ र जताततै पर्याप्त पानी छेलोखेलो हुन्छ । धुम्म बनेर वायुमण्डल ढाकेको तुवालो लगायतका प्रदुषण पखालेर वातावरण सुन्दर बनाउँछ । त्यो भन्दा पनि महत्वपूर्णचाहिँ बर्षभरि प्राणीले खाने बाली यही सिजनमा लगाइन्छ, हुर्काइन्छ ।
बिगत तीनर्षदेखिको बर्षायाम(मनसुन)को पुनरावृत्ति गर्ने हो भने यो सिजनमा बाढी र पहिरोले कैयौंले जीवन गुमाएका छन्, पहिरो धेरै परिबार घरबास बिहिन बनेका छन् । कैयौँ किसानहरुको भित्र्याउने बेला भएको बालीसहितको खेत बगाएको छ । कैयौँको रोपाइँ गर्न तयारी गरिएको फाँट बगाएको छ । ब्याडसहित भएभरको खेत सिनित्तै बगाएपछि किसानले बेसाहाको भर पर्नुपर्ने बाध्यता छ ।
यी तमाम दुखद घटना हेर्दा जे भयो राम्रैका लागि भयो भन्न किसानको आत्माले मानेको छैन । जे भयो, नहुनुपर्ने भयो भन्दै उनीहरु पुर्पुरामा हात लगाउन बाध्य छन् । मुटुमाथि ढुंगा राखी हाँस्न बाध्य छन् ।
दस नङ्ग्रा खियाएर, दुख गरेर खान्छु भन्दा पनि नपाएपछि किसानहरु थप चिन्तित छन् । यस्ता बिषयमा सरकारको प्राथमिकता निर्धारण हुँदैन । कुनै फाँटमा खोला(नदी) नियन्त्रणको कार्यक्रम तथा बजेट परेको रहेछ भने पनि असारसम्म काम आरम्भ हुँदैन । संरक्षणको पर्खाइमा रहेका किसानहरु आँखै अघि आफ्नो खेतबारी बगाएको हेर्न बाध्य छन् ।




