| सोमवार, कार्तिक २३, २०८३

रक्त संचार केन्द्र चाँडै संचालन गर

रक्त संचार केन्द्र(ब्लडवैँक) नहुँदा गोरखामा स्वास्थ्य उपचार सेवा प्रभावित हुने गरेको छ । रगत उपलब्ध हुने नहुने निश्चित नहुँदा अपरेशन गर्नुपर्ने गोरखा अस्पतालका विरामी वा घाइतेलाई ठूला सहरहरुमा रिफर गर्नुपर्ने कटु यथार्थ अस्पतालमा विद्यमान छ ।

रेडक्रसले गोरखामा रक्त संचार केन्द्र(ब्लड बैंक) संचालनका लागि केही बर्षदेखि तयारी थालिएको थियो तर प्राविधिक समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । त्यसैले अस्पतालमा एनेस्थेसियासिस्ट, सर्जन हुँदाहुँदै पनि शल्यक्रिया सेवा सञ्चालनका लागि कठिनाइ थियो । बिरामीका आफन्तले रगतको जोहो गरेर अस्पताललाई हस्तान्तरण गरेपछि बल्ला शल्यक्रिया हुने गरेको थियो ।

अब बल्ल रक्त संचार केन्द्र संचालनका लागि आवश्यक मेसिनहरु उपलब्ध भइसकेका छन् । यसका लागि दुई जनाले आवश्यक तालिम लिएर आइसकेका छन् । अस्ट्रेलियाको ‘ग्याप’ भन्ने संस्थाले करिब तीन करोड लागत पर्ने मेसिन उपलब्ध गराएको छ ।

अब केही सा(साना सामान आउने प्रक्रियामा रहेका छन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाबाट आएका टोली गोरखाको ब्लड बैङ्कको रिपोर्ट केन्द्रमा बुझाउने उनीहरुबाट निर्णय भएपछि ब्लड बैङ्क संचालनमा आउने छ । ब्लड बैङ्क संचालनका लागि पाँचजना जनशक्ति चाहिने तर तत्काल दुईजना मात्र राखेर संचालन गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ ।

ब्लडवैँक गोरखामै भयो भने धेरै सुविधा हुनेछ । रिफर गर्नुपर्ने विरामीलाई पनि गोरखाकै अस्पतालमा उपचार सेवा दिन सकिन्छ । जटिल प्रकृतिको बिरामीलाई गोरखामै रगत दिने व्यवस्था हुनेछ जसले गर्दा रगत अभावमा ज्यान गनुमाउनु पर्ने बाध्यात्मक अबस्थामा सुधार आउनेछ ।

ब्लडवैँक स्थापना तथा नियमित संचालनका लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारको अभिभावकत्व चाहिन्छ । त्यस्तै स्थानीय समाजसेवी, जनप्रतिनिधिको भूमिकाको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्