श्यामचेतबासीको रोदन सम्बोधन होओस्
गतबर्ष पनि श्यामचेत गाउँभन्दा माथिको पहिरोले गाउँलेहरु त्रासैत्रासमा बाँचे । दुई महिना बर्खाभरि कैयौं गाउँले बिस्थापित भए । हिउँद लागेपछि गाउँमा बसेका कतिपय गाउँले यो बर्खा मा पनि पनि चिल्लीबिल्ली भएका छन् ।
पहिरोको हल्ला गर्दा प्रहरी प्रशासनको निगरानी बढ्छ । असुरक्षाको कारण देखाउँदै गाउँलेहरुलाई गाउँ छिर्न नदिन पनि सक्छन् । त्यसैले प्रहरी प्रशासनका खबर नगरी सकस सामना गरेको गाउँलेहरुको भनाइ छ । जे होस्, गाउँमा पहिरो आएको छ । अहिले गाउँभन्दा माथि ५० मिटर नजिकसम्म पहिरो आएको छ । सो पहिरो गाउँ पसेपछि त्यहाँका एकसय ५० घरधुरीको बिचल्ली हुनेछ ।
पूर्व जानकारी हुदाहुदै पनि सरकारले बेलैमा समस्या समाधान गरेन भने त्यहाँ जनधनको क्षति हुन पनि सक्ने अबस्था छ । अहिले गाउँलेहरु दिनहूँ दिनभरिभरि कूलो काट्दै पहिरो पन्छ्याउँदै गरिरहेका छन् । उनीहरुले तार जालीका लागि जिल्ला विपद व्यबस्थापन समितिका संयोजक तथा प्रजिअसमक्ष माग राखेका छन् । तर प्रशासन कार्यालयमा राजनीतिक पार्टीले फरक फरक सुझाव पेश गरेका छन् ।
आगोलागी झुपडी डेढघडी भद्रा भनेझै गाउँमा पहिरो पस्न लागिसक्यो, जनधनको क्षति हुने संघारमा छ, तर राजनीतिक दल भने एउटाले एउटा सुझाव राखे, अर्काले फरक मत राखि हाल्नु पर्ने तथाकथित पुरानो सिद्धान्त अनुसार तर्क बितर्क गरिरहेका छन् । प्रजिअले पनि धरातलीय यथार्थ बुझेर बेलैमा तारजालीको ब्यबस्था ताकि बेला गुज्रिएपछि पछुताउनु नपरोस् ।




