सावधान हुनू, आतंकित नहुनू !
बर्खा लागेको छ । जहाँतहीं अबिरल बर्षात भइरहेको छ । भूकम्पले थिलोथिलो बनाएको जमिन यस्तो अबिरल बर्षातले पहिरो खस्ने सम्भावना प्रचूर हुन्छ । त्यसैले साबधानी अपनाउनु पर्छ ।
साबधानीका लागि मौसम पूर्वअनुमान महाशाखा तथा बाढि पहिरो शाखाले हरेक जिल्ला प्रशासन कार्यालय(जिल्ला बिपत व्यबस्थापन समिति)लाई अद्यावधिक गरिएको बुलेटिन पठाएको हुन्छ । कार्यालयले पनि हरेक सञ्चारमाध्यमलाई, गाउँपालिका, नगरपालिका कार्यालयलाई फरवार्ड गरिरहेको हुन्छ ।
साबधानीका लागि यसरी सूचना गर्नु वुद्धिमानी हो । सूचनाको पर्वाह नगर्नु वा सूचनालाई सिरानी राखेर धेरै डर, त्रास फैलाउनु, आतंकित हुनु, आतंकित गराउनु यसको उपादेयता होइन । गोरखाकै सन्दर्भमा भन्नुपर्दा अहिले गण्डकी नदीमा धेरै बाढी आएको छ । चेपे, दरौंदी, मस्र्याङ्दी, त्रिशुलीमा पनि बाढी आएको छ ।
सबैभन्दा खतरनाक बुढीगण्डकी नदी साँगुरिएको ठाउँमा पहिरो झरेर नदी थुनिने र खोलिने हुँदा नदी किनारका सोती, माछाखोला जस्ता बस्तीहरु बग्न सक्छन् भन्ने हो । त्यसैले त्यस्तो बस्तीहरु ज्यादा सजग, सतर्क, साबधान हुनुपर्छ । नदी किनारका बस्तीलाई दुवै खतरा हुनसक्छ । बस्तीभन्दा तल्लो भागमा नदी थुनियो र पानी फैलिदै आएर डुबाउने त्रास पनि उत्तिकै हुन्छ । बस्तीभन्दा माथि पहिरो खसेर पानी थुनियो भने पनि एक्कासी खोलिँदा बस्ती बगाउने सम्भावना हुन्छ । त्यसैले त्यस्तो बस्तीका बासिन्दा सजग हुुनुपर्छ । सचेत समुदायलाई उनीहरुलाई सजग गराउनुपर्छ ।




