| सोमवार, कार्तिक २३, २०८३

ब्युँतेला गोरखाकाली रबर उद्योग ?

गोरखकाली रबर उद्योग देशको प्रतिष्ठा हो । गोरखाको गौरव हो । यसले मुलुकलाई आर्थिक रुपमा संवृद्ध बनाउँछ । टायरमा आत्मनिर्भर बनाउँछ । सयौँ, हजारौँलाई रोजगारी दिन्छ भन्ने आममा सपना थियो । यो बन्द हुन्छ, यसको चल अचल सम्पत्ति तहनहस हुन्छ भन्ने कल्पना नै ज्यादै कठोर छ । तर वर्तमानमा यो निर्मम सत्य सत्यलाई असजिलो गरी पचाउनु परेको छ ।

यो व्यापार र व्यापारीको युग हो । व्यापारले न बुबा, न आमा, न दाजु, न भाइ, न दिदी, न बहिनी भन्छ । यसले त सिर्फ पैसा भन्छ । नाफा भन्छ, आय र व्याय भन्छ । किनभने यो वैश्य अर्थात व्यापारको युग हो, जहाँ मुटु होइन, दिमाग चल्छ, माया ममता, भावना चल्दैन, निर्जीवता चल्छ । कृत्रिमता चल्छ ।

गोरखकाली रबर उद्योग २०७१ सालको चैत महिनाबाट थला परेको हो, थलामै मृत्यूशैयामा छ । न यहाँ कुनै कर्मचारी, न मजदुर, न यहाँको भौतिक संरचना सद्दे छ ।
अहिले निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिने बिषयमा छलफल भएको छ । इच्छुक फर्म वा कम्पनीले सञ्चालन गर्ने मोडालिटी सहितको व्यवसायिक योजना सहितको प्रस्ताव आह्वान गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

प्राप्त प्रस्ताव मूल्यांकन गरी उपयुक्त ठहरे सञ्चालन गर्न दिन सकिने कार्यदलको सुझाव छ । गोरखकाली टायरको ब्राण्ड नेम बिक्री गर्ने र जग्गा नेपाल सरकारको नाममा ल्याउने तथा मेसिनहरु बिक्री गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सरकारी लगानीमा रहेका गोरखकाली रबर उद्योग निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरी पुनः सञ्चालन गर्न सिफारिस भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले गत १५ कात्तिकमा संस्थान र उद्योग पुनः सञ्चालन गर्न के(कस्तो मोडालिटी उपयुक्त हुन्छ भनी अध्ययन गर्न एक कार्यदल गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्