| सोमवार, कार्तिक २३, २०८३

कहिले बन्छ पालिकास्तरको अस्पताल ?

गोरखामा गोरखा अस्पताल, आँपपिपल अस्पताल यसअघि नै थिए । आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र र मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि चिकित्सकीय सेवा दिइरहेका थिए ।

तर सरकारले २०७७ सालमा देशभरका ३९६ वटा पालिकामा पाँच शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम घोषणा ग¥यो । घोषणापछि अजीरकोट र बारपाक सुलीकोटले अस्पताल निर्माणको प्रक्रिया सुरु गरेका छन्, तर गोरखाका पाँच पालिकाले अहिलेसम्म अस्पताल निर्माणको छाँटकाँट गरेका छैनन् ।

कुनै पालिकाले जग्गा जुटाउन समेत सकेका छैनन् । ‘स्वास्थ्य नै धन हो’ भन्ने कथन छ । स्वास्थ्यको कति धेरै महत्वपूर्ण छ भनेर सम्झाइरहनु, बुझाइरहनु पर्दैन तथापि पालिका सरकारले जनस्वास्थ्यसंग सम्बन्धित अस्पताल निर्माणमा तीब्र इच्छाशक्ति राखेको पाइएन ।
चुमनुब्री, धार्चे जस्ता दुर्गमका पालिकाले समेत अस्पताल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएनन् । सानातिना बाधा व्यवधानलाई भाँजो सम्झेर पालिका सरकारले बाधा, ब्यबधान हटाएर अस्पताल निर्माणको कामलाई गति दिन सकेनन् ।

पालिकाहरुले प्रमुख तथा उपप्रमुखको नाम जोडेर राखिएका कार्यक्रमको सतप्रतिशत प्रगति गरेका छन् । तर अस्पताल जस्ता महत्वपूर्ण काम सुरु गर्न सकेका छैनन् । पालिका सरकारहरुसित सोध्ने हो भने एउटा न एउटा कारणवशः काम गर्न नसकेको तर्क गर्छन् । बहानाबाजी जे पनि हुनसक्छ, तर जनस्वास्थ्यको अघि कुनैपनि बहाना टिक्न सक्दैन ।

जनताको स्वास्थ्य अघि कुनै पनि बहाना फिक्का हुन्छन् ।
अब पालिका सरकारको कार्यअवधि सकिएको छ । कोही दोहोरिएलान् वा नदोहोरिएलान्, तर यो अवधिमा अस्पताल निर्माणलाई प्राथमिकता दिनुपर्ने थियो । अझै पनि जग्गा व्यवस्था गरेर सिलान्यास गर्ने अबस्था जीवितै छ । यसलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्