
धार्चेलाई आरोहीको पालिका वा पर्यटनमैत्री पालिका बनाऊ
‘आरोहीको गाउँपालिका’ घोषणा गर, वा ‘पर्यटनमैत्री गाउँपालिका’ घोषणा गर, जे गर, धार्चे गाउँपालिकालाई पर्यटकीय गाउँपालिका बनाऊ ।
धार्चे गाउँपालिकाको पनि विशेषगरी वडा नं. ४ मा धेरैजना पर्यटन व्यवसायी छन् ।
स्वरोजगार पर्यटन व्यवसायी पनि धेरैछन्, पर्यटन व्यवसायमा रोजगार गर्ने पनि धेरै छन् । अर्थात पर्यटन व्यवसाय सञ्चालक पनि धेरै छन्, पर्यटनसम्बन्धी कम्पनीहरुमा काम गर्ने गाइड, शेर्पा, कुक, पोर्टरहरु पनि धेरै छन् । आठहजार मिटरभन्दा अग्ला सगरमाथा लगायतका हिमाल आरोहीहरु पनि धेरै छन् ।
धार्चे गाउँपालिकामा पर्यटकीय स्थल पनि धेरै छन् । गाउँको संस्कार, संस्कृतिको अध्ययन, गोठ परम्परा, मौलिक भेषभूषा, भाषा आदि अध्ययनका लागि ग्रामीण पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ हो । पर्यावरणीय हिसाबले पनि विशेषगरी रुपिङ्ला पास, नारदपोखरी ट्रेकिङ, दूधपोखरी ट्रेकिङ, गणेशहिमाल बेसक्याम्प ट्रेकिङ, मनास्लु क्षेत्र प्रवेश, लार्केला पास प्रवेश, चुमभ्याली प्रवेश गर्ने स्थल पनि धार्चे नै हो ।
यहाँको तातोपानी, धार्चेडाँडा, निसराङच्छो पर्यटकीय स्थलहरु हुन् । पर्यटन विकासका लागि इपिसेण्टर ट्रेकिङ ट्रेल, इपिसेन्टर साइक्लिङ ट्रेल, गोठालोपार्क, आरोही पार्क, भीसी थमन संग्रहालय जस्ता संरचना पनि निर्माण भएका छन् । जीपलाइन निर्माणाधीन छ । क्यानोनिङ, प्याराग्लाइडिङ, ¥याफ्टिङको पनि प्रसस्त अध्ययन र परीक्षण भएका छन् । त्यसैले धार्चेमा पर्यटन विकासको अत्यन्त धेरै सम्भावना छ ।
यसलाई संस्थागत गर्न गत आइतबार सम्पन्न एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष सो गाउँपालिकालाई आरोहीको पालिका घोषणा गर्न माग गरियो । गण्डकी प्रदेशकै प्रथम सगरमाथा आरोही इमानसिँह गुरुङको जन्मस्थल पनि यही भएकाले आरोहीको गाउँपालिका घोषणा गर्नुपर्ने उनीहरुको दाबी हो । माग जायजै छ । आरोहीको गाउँपालिका वा पर्यटनमैत्री गाउँपालिका जे घोषणा गरे पनि सो पालिकामा पर्यटन पूर्वाधारको अझै विकास गर्नुपर्छ ।




