| बुधबार, अशोज ६, २०८३

गोर्बुङको अर्गानिक हर्बल फर्मबाट सिक्नुपर्ने पाठ

कृषि फर्म दर्ता गर्ने वा सहकारी दर्ता गर्ने, सरकारको ढुकुटीबाट अनुदान लुट्ने, सहुलियतको व्याजमा ऋण कब्जा गर्ने, एकबर्ष जति फर्म सञ्चालन गर्ने, रकम पचेपछि बिस्तारै फर्म डुबाउनेहरुलाई देखेर हाम्रो समाज आजित भएका छन् । कसैले कृषि फर्म, पशु फर्म सञ्चालन आरम्भ गरेको देख्ने बित्तिकै उसले पनि यही बाटो अपनायो भन्ने अभ्यास भइसकेको छ ।
यही माहोलमा गोरखा नगरपालिका १४ गोर्बुङमा एउटा जडिबुटी फर्म आरम्भ भएको छ । गोरखा अर्गानिक हर्बल प्रालिले कामको आरम्भ त चैतदेखि गरेको हो, तर जडिबुटी रोप्ने काम अहिले पनि भइरहेको छ । बिउ ल्याएर विरुवा उत्पादन गर्ने र रोप्ने काम भइरहेको छ । काममा पूर्व सहसचिव डाक्टर खेमराज भट्टराई नेतृत्वको टिम खटेको छ । वन मन्त्रालयको सहसचिव स्तरको जागिर र क्यानडाको प्रोफेसर जागिर छोडेर उनी यस काममा लागेका छन् ।
अर्गानिक जडिबुटी बिषयमा पीएचडी गरेका र यति प्रोफाइल भएको मान्छे लागेकाले दुईचार लाखको लोभले, पाँचसात लाखमा ¥याल चुहाएर यो काम थालेको भन्ने बुझिदैन । प्रालिका अध्यक्ष भट्टराईका अनुसार सो फर्मलाई विश्वको सबैभन्दा धेरै प्रजातिका जडिबुटी उत्पादन गर्ने केन्द्रको रुपमा विस्तार गरिनेछ । साथै फर्म एकठाउँमा मात्र नभै गोरखाकै हिमाली भेगमा पनि स्थापना गरिनेछ । भच्चेक, सिरानडाँडा भन्दा माथिको जंगलमा यसको पूर्व सम्भाव्यता अध्ययन भइरहेको छ ।
गोरखा अर्गानिक हर्बल प्रालिबाट व्यबसायीहरुले काम गर्दा दीर्घकालीन लक्ष्य र उद्देश्यका साथ अघि बढ्नृपर्छ भन्ने पाठ सिक्नुपर्छ । अन्यथा सानादेखि ठूलासम्म सबैले बुझ्नेछन् कि कुन स्वार्थले काम थालेको हो भनेर । यसले न व्यक्ति अघि बढ्छ, न देश अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्