
दुर्गम गाउँको घरघरमा पुगेर गर्भ परीक्षणको निर्णय उत्कृष्ठ कदम
युग जटिलताबाट सरलतातिर, गरिबीबाट सम्पन्नतातिर गएको साँचो हो, भलै गति सुस्त छ । नकारात्मकताबाट सोच्नेले यो विकासलाई ‘गर्नेले गरेको’ नभै ‘समय क्रममा स्वतः भएको’ टिप्पणी गर्छन् ।
सामाजिक, भौतिक, आर्थिक विकासका दृष्टिले २०४६ सालको राजनीतिक परिवर्तनअघि नेपालको अबस्था बिकराल थियो । तर त्यसयता विकासको गति बढेको हो । २०६३ को राजनीतिक परिवर्तनपछि फेरि गतिले गियर थप गरेको हो । त्यस्तै २०७२ पछिको राज्य पुनसंरचना, शासकीय स्वरुपको पुनसंरचनाले यसलाई नयाँ माइलेज दिएको हो । भलै अपेक्षाकृत मान्न सकिँदैन ।
गोरखाको भौगोलिक रुपमा सबैभन्दा दुर्गम भनिएको चुमनुब्री गाउँपालिकाले गर्भवती महिलाको गर्भ परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली घरघरमा जाने योजना बनाएको छ । त्यसका लागि तालिम प्राप्त नर्स सोनी गुरुङ नेतृत्वको टोली अल्ट्रासाउण्डसहित घरघर जान सहमत भएका छन् ।
सो गाउँपालिकामा यातायात सेवा छैन तसर्थ गर्भवती महिलालाई सुत्केरी हुन साह्रै जोखिमयुक्त छ । गर्भ परीक्षण गर्न दुर्गमका महिलाहरु आरुघाट, गोरखा बजार वा अन्य सहरमा जान बाध्य छन् । गर्भ परीक्षण नगर्दा जोखिमको अनुमानसमेत नहुने र एक्कासी सुत्केरी हुन जटिलता पैदा हुँदा महंगो खर्चमा हेलिकोप्टर चार्टर गर्नुपर्ने अबस्था छ । यति गर्दा पनि समयमै उपचार नपाएर कैयौँको मृत्यू भएका घटना पनि छन् ।
यदि गाउँपालिकाले लिएको योजनाअनुसार घरघरमा गर्भवती जाँच गर्ने टोली खटिने हो भने गर्भवती महिलाहरुको अबस्थामा धेरै सुधार आउनेछ । बच्चाको अबस्था, अवस्थितिका बारेमा पूर्व जानकारी पाए भने समयमै उपचारको व्यवस्था वा सजगता अपनाउने छन् । त्यसपछि गर्भवती वा सुत्केरी महिला तथा बच्चाको मृत्यूदर पनि घट्ने विश्वास लिन सकिन्छ । यसका लागि हिम्मत गर्ने स्वास्थ्यकर्मी बधाइका पात्र छन् ।




