| सोमवार, कार्तिक २३, २०८३

आफ्नै भाषा, संस्कारअनुसारको कर्मकाण्ड गर्नु प्रसंसनीय

नेपालीमा ‘कुण्ड–कुण्ड पानी, मुण्ड(मुण्ड वुद्धि’ भन्ने कथन प्रचलित छ । कोही आस्तिक, कोही नास्तिक हुन्छन् । कसैलाई धर्म, संस्कार, संस्कृतिप्रति आगाध श्रद्धा, प्रगाढ आस्था हुन्छ, कसैलाई यसप्रति बितृष्णा हुन्छ । धर्म, संस्कार, संस्कृति भन्ने सब ‘अफिम’ हुन्, यसको लतले मान्छे बिग्रिन्छन् कोही भन्छन् । कोही आफ्ना भाषा, धर्म संस्कार, संस्कृतिलाई आफ्नो पहिचान सम्झन्छन्, प्राणजत्तिकै प्यारो ठान्छन् ।

नेपालको विविधता यही हो । आदिवासी जनजातिको संख्या धेरै रहेको नेपालमा आफ्नो धर्म, संस्कार, संस्कृतिलाई प्यारो ठान्नेहरुको बाहुल्यता छ । यहाँ जातीय तथा भौगोलिक हिसाबले धेरैथरी संस्कार, संस्कृति प्रचलित छन् । सबै जातजाति, भौगोलिक अबस्थितिमा रहेकाहरुले यसलाई प्राणसरी प्यारो ठान्छन् ।

हालै गोरखा नगरपालिकाका मगर संस्कृतिप्रेमी ३० जना भन्दा धेरैले मगर समुदायमा प्रचलित कर्मकाण्डसम्बन्धी तालिम लिए । मगर संप्रदायमा जन्मेदेखि मृत्यूपर्यन्त प्रचलित संस्कार गर्ने गराउने तालिम लिएका हुन् ।

अहिलेसम्म ब्राह्मण क्षेत्री समुदायमा प्रचलित विधि विधान अनुसार कर्मकाण्ड गर्दै आएका उनीहरुले अबदेखि आफ्नै रीतिथिति अनुसार, आफ्नै भाषा र चलनचल्तीअनुसार कर्मकाण्ड गर्ने अपेक्षा गरिएको छ । गोरखा नगरपालिकामा रहेका मगरहरुले सिकेका यी विधि विधान अन्य पालिका, अन्य गाउँहरुमा रहेका मगरहरुले पनि सिको गर्ने विश्वास लिन सकिन्छ । यसका लागि सम्बन्धित पालिकाले समेत सहयोग र समन्वय गर्नुपर्ने देखिन्छ ।

गोरखाको दक्षिणी भेगमा मगर समुदायको बसोबास धेरै छ । उत्तरी भेगमा गुरुङ समुदायको बसोबास छ । गुरुङ समुदायमा यसअघिदेखि नै आफ्नै भाषा, संस्कार र संस्कृतिअनुसार कर्मकाण्ड गर्ने प्रचलन छ । अब दक्षिणी भेगमा बसोबास गर्ने मगर समुदायले पनि आफ्नै रीतिथिति अनुसार भाषा संस्कारअनुसारको कर्मकाण्ड गर्न थालेपछि थप संवृद्धता आउनेछ ।

प्रतिक्रिया दिनुहोस्