लागुऔषध न्यूनिकरण गर्न निगरानी बढाउनु पर्छ ।
बिभिन्न देशले लागुऔषध कारोबार गर्न नेपाललाई ट्रन्जिट बनाउँदै आएको बारे बारम्बार समाचार सुन्ने गरिन्छ । त्यस्तै गोरखालाई ट्रन्जिट बनाएर पनि कहीं अबैध कारोबार भैरहेको त छैन ? यसबारे सोधखोज गर्नु बेस हुन्छ ।
तनहूँको आँबुखैरेनी लागुऔषधको कारोबारमा अगाडि छ । यहाँबाट तनहूँका बिभिन्न ठाउँ, लम्जुङ, गोरखा र धादिङसम्म पनि लागुऔषध ओसारपसार हुने गरेको अनुमान छ । लागुऔषध कारोबारमै संलग्न रहेको भन्दै इलाका प्रहरी आँबुखैरेनीले आँबुखैरेनीबाट बेलाबेला बिभिन्न कारोबाहरीहरुलाई पक्राउ गर्ने गरेको छ । लागुऔषध कारोबार गर्ने गरेका राष्ट्रिय अन्तर्राष्ट्रिय गिरोह पनि बेलाबेला पक्राउ पनि पर्छन् । तर यसको दुरुपयोग घट्ला भन्दा झन बढ्दै गएको छ ।
बढ्दै गएको लागुऔषधी दुरुपयोग, कारोबार रोक्न केहीदिनदेखि देशव्यापी अभियान चलाइयो । जनचेतना जगाउने उद्देश्यले चलाइएको अभियानले जनमानसमा केही परिवर्तन ल्यायो कि भन्ने विश्वास लिन सकिन्छ । परिवर्तनको नतिजा त समयक्रममा देखिनेछ ।
गोरखाका केही त्यस्ता ठाउँछन्, जहाँ लागुऔषधको दुरुपयोग गरिदै आइएको छ । चिल्ड्रेनपार्क, पश्चिमाकाली, शिक्षा कार्यालय रहेको बोसेपानी क्षेत्र, रामशाहटोलको मस्र्याङ्दी र दरौंदीको दोभान क्षेत्र, महेन्द्रज्योति विद्यालय रहेको दरबारमार्ग क्षेत्र, छहरे, तीनधारे जस्ता ठाउँहरुमा निगरानी बढाएमा यस्तो प्रयोगकर्ता बढि भेटिने सम्भावना रहन्छ ।
यस्ता ठाउँमा निगरानी बढायो भने उनीहरु भेटिनेछन् । उनीहरुमाथि गरिएको कारबाहीले पनि अरुलाई निरुत्साहित गर्न सक्नेछ ।




