मसेल घटना अराजकताको पराकाष्टा
केही समयअघि भीमसेनथापा गाउँपालिकाको अश्राङमा सुन्दैमा कहाली लाग्दो घटना भयो, छोराले आमालाई बलात्कार गरेको बारे । यो घटनाले गोरखाली गाउँ टोलमा नमिठो छाप छोडेको थियो । यसको केही समयपछि गत शनिबार भीमसेन थापा गाउँपालिकाकै मसेलमा अर्को त्यो भन्दा जघन्य घटना भयो, एउटा छोराले आमाको हत्या गरेको बारे । यो घटना श्रृङ्खला अराजकताको पराकाष्ठा हो ।
हत्या आरोपमा प्रहरीले छोरा सहित मृतकको मलामी गएका १८ जनालाई पक्राउ ग¥यो । आइतबार उनीहरु सबै बिरुद्ध कर्तव्य ज्यानको मुद्धा दर्ता गरी म्याद थप गरेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्त छोराले मादक पदार्थ सेवन गरी अर्धचेत अबस्थामा घर गएर आमालाई कुट्ने, श्रीमतीलाई कुट्ने गरेको उल्लेख छ । अझै अनुसन्धानबाट थप अपराध पनि हुने गरेको खुल्न सक्ने अनुमान छ ।
बिस्तृत अध्ययन, अनुसन्धान र फैसला जे होला, प्रारम्भिक अनुसन्धान अनुसार घटना ज्यादै दर्दनाक छ । यस्ता घटना दोहोरिनु हुदैन । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्बाह दिनुपर्छ । न्यायलय, प्रहरी, प्रशासनको विशेष खालको भूमिका हुन्छ । त्यस्तै स्थानीय सरकार, सामाजिक संघसंस्थाको पनि भूमिका हुन्छ । उनीहरुले समाजमा शान्ति, स्थिरता र संवृद्धिका लागि जनचेतनामुलक कार्यक्रम गर्नसक्छन् । समाजमा विद्यमान बिकृति, बिसंगतिको अन्त्यका लागि जनजागरणमुलक कार्यक्रम गरेमा समाज सुसुचित हुनेछ । त्यस्तै कतै केही अप्रिय घटना भएमा लुकाइछिपाइ राख्नु भन्दा पनि बेलैमा प्रहरीलाई खबर गर्नुपर्छ । जसले गर्दा थप दुर्घटना हुनबाट रोकथाम हुनसक्छ ।




