सवाल जवाफ भन्दा काम खोजेको हो
काम नगर्ने ठेकेदारलाई सरकारले कारबाहीको प्रक्रिया अघि बढायो । ठेकेदारहरु पनि के कम, बिभिन्न कारणले काम गर्न नसकेको भन्ने तर्क गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन थाले ।
काम नगर्नेलाई कारबाही गर्ने सरकारको काम, कर्तव्य र अधिकार क्षेत्रभित्रै पर्छ । त्यस्तै निर्माण व्यबसायीहरुले पेश गरेको काम गर्न नसकेको कारणहरु पनि कम्ती मार्मिक थिएनन् ।
यी दुईथरी सवाल जवाफ भए, तर सर्बसाधारण नागरिकले खोजेको तर्कशक्ति होइन, काम हो । काम गर्ने वातावरण नबनाइदिने कर्मचारीको पनि खोजी गर्नुपर्छ । काम गर्ने साइट यथासमयभित्र निर्दिष्ट हुदैन भने यथासमयमा काम कसरी गर्ने भन्ने निर्माण व्यबसायीको तर्क धेरै मार्मिक छ । कार्यक्षेत्र देखाइदिने, कार्यादेश दिने काममा किन ढिलाइ हुन्छ ? त्यो पनि कारबाही गर्ने निकायले खोजी गर्नुपर्छ ।
सरकारको तर्फबाट कुनै अल्झन हुदैन भन्ने ग्यारेण्टी गरिसकेपछि पनि काम गर्दैनन् भने त्यस्ता निर्माण ब्यबसायीलाई चाहिँ ब्यबसायी संघले पनि बचाउ गरिरहनु जरुरी छैन । खराबको बचाउ गर्ने पनि खराब नै हुन्छ । त्यसैले कसलाई बचाउ गर्ने, कसलाई बचाउ नगर्ने, कसलाई कारबाहीका लागि सरकारलाई नै सहजीकरण गर्ने भन्ने सम्म पनि संघले नीति बनाउनु पर्छ ।
संघ भनेको बिना कारण पनि दुख पाएका सदस्यको हक र अधिकारका लागि लड्ने निकाय हो । सदस्यहरु माथि अन्याय भयो भने बहश पैरवी गर्न गठन भएको संस्था हो । तर संघले आफ्नो क्षेत्रभित्र मौलाएको अवाञ्छित गतिबिधिलाई ढाकछोप गर्नु हुदैन । सर्बसाधारा नागरिकको चाहना, मर्म र भावना अनुरुप काम गर्नुपर्छ ।




