
बालुवा अनियमितता नियमन गर
गोरखा जिल्ला अन्तरगत बुढीगण्डकी, त्रिशुली, मस्र्याङ्दी र दरौंदी किनारका नदीजन्य सामग्रीमा अनियमितता भइरहेका गुनासो फेरि बढ्न थालेको छ । सबैभन्दा धेरै गुनासो बुढीगण्डकी क्षेत्रको छ । घ्याल्चोक, दर्बुङ, फुजेल, नाम्जुङ, बुंकोट, बोर्लाङ, धावा, आरुघाट क्षेत्रमा धेरै अनियमितता भएको गुनासो आइरहेका छन् । अनुमति नपाएका ठाउँबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने, तोकिएको भन्दा धेरै परिमाणको सामग्री उत्खनन गर्ने, तोकिएको भन्दा बढि समयसम्म पनि उत्खनन गर्ने, नतोकिएको ठाउँबाट पनि उत्खनन गर्ने जस्ता अनियमितता भइरहेको गुनासो आएको हो । बुढीगण्डकी क्षेत्रमा मुआब्जा लिइसकेको जग्गाको बालुवा पनि बेचिएका छन् । यसबारे के हुन्छ ? कुनै निकायलाई पनि थाहा छैन वा थाहा भएर पनि मौन छन् ।एक समय यस बिषयमा धेरै चर्को चर्चा भयो । प्रशासनले कडाइ गर्नका लागि केही समय सबै घाट बन्द गरेर नियमन गर्ने प्रयास ग¥यो । तर जब खुल्यो, फेरि उस्तै अचाक्ली हुन सुरु भयो । यतिसम्म कि बुढीगण्डकी किनारको अबैध बालुवा कारोबारमा त्यस भेगका वडाअध्यक्षहरु नै पनि संलग्न रहेको भेटिएका छन् । यो बर्ष भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणले तिब्रता लिएको र लिनै पर्ने बर्ष हो त्यसैले निर्माण सामग्रीको खपत धेरै हुनु स्वभाविक छ । अनियमितता भयो भनेर रोकौं पनि कति रोकौं, नरोकौं भने पुनर्निर्माणको बहाना बनाएर तस्करी बढिरहन्छ । तस्करको जालो धेरै ठूलो हुन्छ । प्रायः डन, यदाकता कर्मचारी, जनप्रतिनिधि, पत्रकार पनि तस्करको जालोभित्रै हुन्छन् । यही जालोको बलमा तस्करले गुण्डा जन्माउँछ, गुण्डागर्दी मौलाउँछ र समाजले सास्ती पाउँछ ।मस्र्याङ्दी किनारका गुण्डागर्दीको सिकार केही समयअघि पत्रकार समेत भएको घटना सेलाएको छैन । त्यसभेगका सर्बसाधारणहरु पनि बालुवामा मौलाएका गुण्डाबाट आतंकित भएको गुनासो गर्छन् । बालुवा तस्कर न्युनिकरणमा सबैको ध्यान जान जरुरी छ ।