| सोमवार, कार्तिक २३, २०८३

खेलकुद बाहेकका गतिविधि गर्ने स्थलको जोहो गरौँ

बजार व्यवस्थित गर्न गोरखा सदरमुकाममा ठाउँको अभाव छ । अहिले जसरी बजार विस्तार भइरहेको छ, त्यो अस्तब्यस्त छ ।
भिरालो सतहमा बजार बिस्तार गर्दा खार्दा र उकास्दामै घर बनाउने जत्तिकै खर्च हुन्छ ।

नियमअनुसार सडक क्षेत्रले ओगट्ने जति छेउछाउ छाड्ने हो भने त बजारका कुनै घर बाँकी रहँदैनन् । त्यसैले गोरखा बजारभित्रको सडकको ‘राइट अफ वे’ १० वा १५ मिटर कायम गर्ने भनेर बारम्बार आवाज उठिरहन्छ ।


यति साँगुरो तथा अब्यबस्थित बजार क्षेत्रभित्र खुल्ला चौरको अभाव छ । महाभूकम्पका बेला ओत लाग्ने, आश्रय लिने ठाउँको समेत अभाव छ । जसका कारण २०७२ सालको भूकम्पका बेला आर्मी व्यारेकभित्र समेत सुत्नुबस्नु परेको थियो ।


गोरखा बजारको खुल्ला ठाउँ भनेको नै हरमटारीस्थित खेलकुद मैदान, रानीपोखरीस्थित चौर, ठूलोआँगन र पुरानो बसपार्क हो ।
यस्तो अबस्थामा गोरखा बजारमा मेला महोत्सव, आमसभा आदि आयोजना गर्न ज्यादै सकसपूर्ण छ । भएको एउटा खेलकुद मैदान जिल्ला खेलकुद विकास समितिको नाममा छ । उसले पनि २५ बर्षका लागि गोरखा जिल्ला फुटबल संघ(एन्फा)लाई हस्तान्तरण गरेको छ ।


खेलकुदका लागि बनाइएको संरचना खेलकुदमै प्रयोग गर्नुपर्छ । यसमा विवादै छैन । अन्यथा खेलकुदका गतिविधिमा संकुचन आउने छ ।
जब मेला महोत्सव गर्ने चर्चा चल्छ, अनि आयोजना गर्ने ठाउँ जुटाउन हम्मे पर्छ । यही मौकाको फाइदा उठाउँदै एन्फा गोरखाले पनि कसैलाई मैदान प्रयोग गर्न दिने, कसैलाई नदिने गरिरहेको छ ।

कसैलाई नदिनु मनासिब छ । तर कसैलाई दिने, कसैलाई नदिने गरी विभेद गर्नु हुँदैन ।
खेलमैदानमा मेला महोत्सव गर्ने बारेमा विवाद भएको धेरै भयो । त्यसैले सबै मिली यो समस्याको स्थायी निराकरण हुने गरी वैकल्पिक स्थानको खोजी गर्नु अपरिहार्य भयो ।

प्रतिक्रिया दिनुहोस्