| सोमवार, कार्तिक २३, २०८३

उपभोगवादी बढि, संरक्षणवादी कम भयौँ

मान्छे अन्य सबै प्राणीभन्दा सर्वश्रेष्ठ प्राणी हो । आजसम्म आइपुग्दा मान्छेले अकल्पनीय प्रगति गरिसकेको छ । मान्छे चरा झैँ उँड्न सक्ने, माछा झै पौडन, चितुवा भन्दा छिटो कुद्न सक्ने भएको छ ।


यति मात्र होइन, कम्प्यूटर नामको प्रविधिमार्फत असामान्य काम गर्न मान्छे सफल भएको छ ।
तर जति विछट्टै प्रगति गरेपनि मान्छेले प्रकृतिलाई जित्न भने सकेको छैन । जति पनि प्रगति गरेको छ, प्राकृतिक सम्पदाको अलिअलि उपयोग गरी, प्रकृतिलाई व्यवस्थापन गर्दै, प्रकृतिसितै आश्रित हुँदै गरेको छ । प्रकृतिलाई जितेर प्रगति गरेको कुनै पनि उदाहरण छैन, प्रकृतिलाई जित्नसक्ने औँशमात्र क्षमता पनि मान्छेमा छैन ।


प्रकृतिमाथि अलिकति मात्र पनि आक्रामक बन्दा, प्रकृतिमाथि विजय गरेको भ्रम पाल्दा बेलाबेला ठूला मानवीय क्षति भएका घटना सबैले देखे, सुनेका छौँ । त्यसैले दीगो विकासका लागि, प्रकृतिको उचित स्याहार, सम्भार गर्नुपर्ने बारे सबै सचेत, सजग हुनुपर्ने बिषय हो ।
नदीजन्य सामग्री खोतल्दा नदीले क्षतविक्षत बनाएको घटना सबैसामु छ ।

जथाभावी डोजर चलाउँदा पहिरोले गाउँघर पुरेर जनधनको क्षति भएको सबैले थाहा पाएको बिषय हो । जंगल फँडानी गर्दा ठूलो खडेरीको सामना गरेको, धुँवा(कार्वन), धुलो तथा विभिन्न प्रदुषण उत्सर्जनका कारण वायुमण्डलजन्य संकट निम्तिदै गएको पनि बुझ्नु पर्ने भएको छ ।
ठाउँठाउँमा गाउँ, बस्ती हटाएर बालुवाखानी, ढुंगाखानी, माटोखानी सञ्चालन भएका छन् ।

उपभोगवादीको तर्क अनुसार विकासका लागि यस्ता सम्पदाको चरम उपयोग गर्न सक्नुपर्छ । विदेशमा यस्ता प्राकृतिक सम्पदाको चरम उपयोग भएर विकास भए, हामीले जतन गरेर राख्यौँ र पछाडि प¥यौँ भन्ने उनीहरुको तर्क हुन्छ ।


उपयोग गर्नै हुँदैन भन्ने पनि यहाँ भनिएको होइन, चरम उपयोग(दुरुपयोग) गर्नुपर्छ भन्ने पनि आशय होइन । प्रकृतिमा धक्का नपुग्ने गरी सीमित मात्रमा उपयोग गर्नुपर्छ । उपभोगवादी ज्यादा, संरक्षणवादी कम हुनुहुन्न ।

प्रतिक्रिया दिनुहोस्