बालबिबाहविरुद्ध अभियान प्रभावकारी भएन
सरकारले सञ्चालन गरेका कैयौँ अभियान सफल भएका छन्, कैयौँ असफल । पैसाको खोलो बगाएर सञ्चालन गरिएको परिवार नियोजन अभियान सबैभन्दा सफल अभियान अन्तर्गत पर्छ ।
विभिन्न कुसंस्कार, अन्धविश्वास, कुप्रथाहरु विरुद्धका अभियान पनि सफल हुदैछन् ।
तर बालबिबाहविरुद्धको अभियान भने प्रभावकारी देखिएन । पहिले सात बर्ष पुगेपछि बिबाहको मेलो सुरु हुन्थ्यो । अहिले १० बर्षअघिको विवाह त पहाडी समुदायमा छैन, तथापि १५ बर्ष कटेपछिको विवाह भने रोक्न सकिएको छैन ।
विशेष गरी शिक्षा, चेतनाको अभावमा पिछडिएको समुदायमा बालविवाह व्यप्त छ । आमाले पनि, फुपूले पनि, दिदीले पनि सानैमा विहे गरेपछि स्वतः जसले पनि बालबिबाह गर्ने रहेछन् । यसलाई सोच्नु, विचार गर्नुपर्ने विषय नै नठानी स्वभाविक रुपमा विवाह गर्ने रहेछन् ।
यसको ज्वलन्त उदाहरण चेपाङ समुदायमा देख्न सकिन्छ ।
त्यस्तै धार्चे, चुमनुब्री, अजीरकोटको पनि माथिल्लो भेग, बारपाक सुलीकोटको लेकाली समुदायमा पनि बालबिबाहको परम्परा अद्यापि छ । तल्लो भेगको पनि गरिबीले चुर्लुम्म डुबेका वा दलित, पछाडि पारिएका समुदायमा यसका नमूना देख्न सकिन्छ ।
धेरै कारणले यो परम्परालाई उन्मुलन गर्नु जरुरी छ । जस्तो कि बालबिबाह गर्नाले उसको शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पर्छ । मानसिक रुपमा पनि उसलाई नकारात्मक असर पर्छ । बालबिबाह गरेपछि उसको वृत्ति विकासमा अबरोध हुन्छ । उसका सन्ततिको पनि उचित विकास र विकास हुन सक्दैन । यसले मातृ, शिशुको मृत्यूदर बढ्नेछ । उसका कारण अरुले पनि देखासिकी गरेपछि समुदाय अस्वस्थ बन्नेछ । नागरिक अस्वस्थ भएपछि अन्ततः नकारात्मक असर सिँगै मुलुकलाई पर्नेछ ।
त्यसैले यो प्रथालाई अन्त्य गर्नु अति जरुरी छ । यसका लागि पालिका सरकारको प्रमुख वा पहिलो दायित्व हो । तर गाउँ तथा नगरपालिकाहरुले यस सम्बन्धी कार्यक्रम बनाएर प्रभावकारी रुपमा लागु गरेको देखिएको छैन ।




