| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखामा मोबाइलको महत्व

अहिले मोबाइलको महत्व कसलाई छैन ? जो कोहीलाई छ । अझै दुर्गमबासीलाई धेरै छ ।
जहाँ यातायातको सेवा छैन, जहाँ बिरामी वा घाइते उद्धार गर्नुपर्यो भने हेलिकोप्टर चार्टर गर्नुपर्ने वाध्यता छ, त्यहाँ मोबाइलको खाँचोबारे शव्दमा बयान गर्न सकिँदैन ।


तर दुखद पक्ष के छ भने, चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम लगायत साविकको सिर्दिबास गाविसका गाउँमा नमस्ते मोबाइल सेवा पनि छैन । निजी कम्पनीका मोबाइल सेवा पनि छैन । साविक चुम्चेत छेकम्पार र सामागाउँ गाविसका कुनै पनि गाउँमा पनि नमस्ते तथा कुनै निजी कम्पनीका मोबाइल सेवा छैनन् ।


छ त स्याटेलाइट प्रविधिको स्काई फोन, जुन अलिअलि बादल लागेपछि सेवा बन्द हुन्छ । कारणबश सेवा अवरुद्ध भयो भने मर्मत गरेर पुन सुचारु गर्न हप्तौँ लाग्न सक्छ । न्याक, लोक्पा, ड्याङ, हिनाङ, छुले निले लगायतका गाउँमा त झन स्काई मोबाइलले समेत सेवा दिदैन ।
मोबाइल सेवा नभएका ती ठाउँमा इन्टरनेटको पनि राम्रो सेवा छैन । त्यसैले दुर्गम गाउँमा फोरजीको मोबाइल सेवा सञ्चालन गर्नु अति आवश्यक छ ।


सरकारले ४७७ ठाउँमा फोरजीको मोबाइल टावर सञ्चालनका लागि चिनियाँ कम्पनी चाइना कम सर्भिस(सिसिएस) नामक कम्पनीलाई ठेक्का दियो, तर सो कम्पनीले काम सुचारु गर्न धेरै समय लगायो । सो कम्पनीले उत्तरी गोरखाको न्याक, बिही र छेकम्पारमा पनि सेवा सञ्चालन गर्न टावर बनाउँदैछ । तर अत्यन्तै ढिलो गतिमा काम गरेको छ । बर्खाभर काम गर्न नसकेको सो कम्पनीले बर्खा सकिएको यत्तिका समय भइसक्दा पनि काम सुचारु गरेको छैन ।


छिटो सेवा पाउन आतुर देखिएका उत्तरी गोरखाबासीले नेपाल टेलिकम र निर्माण कम्पनीलाई छिटो काम सम्पन्न गरिदिन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्