प्रोकका वडाअध्यक्षको अनुकरणीय काम
गोरखाका जनप्रतिनिधिहरुले आफ्ना सेवाग्राहीलाई बिभिन्न मौलिक तरिकाले सेवा गरिरहेका छन् । कतिपय वडा अध्यक्षहरुले सेवाग्राहीलाई मिठाइ दिएर सेवा दिने गरेका छन् । कतिपय वडाअध्यक्षहरुले कम्प्यूटरको काम, फोटोकपिको निशुल्क सेवा गरेका छन् । कतिपयले हुलाक टिकट निशूल्क उपलब्ध गराएका छन् ।
बिकट गाउँ प्रोकका वडा अध्यक्ष पेमाडुण्डुप लामाले पनि प्रत्यक्ष सेवा पुग्ने कार्यक्रम गर्न नयाँ जनगणना गर्न सुरु गरेका छन् । आफ्नो वडाको जनसंख्या साह्रै थोरै भएको भन्दै गाउँपालिकाले बजेट पनि कम बिनियोजन गर्न सक्ने भएकाले पुनजनगणना गर्न लागेको उनको भनाइ छ ।
यसअघि २०६८ सालमा गरिएको जनगणना विश्वासिलो र भरपर्दो नभएको उनको दाबी छ । स्थानीय शिक्षक कर्मचारीहरुले घरमा बसेर जनगणना गरेको भन्दै उनले सो संख्या मिथ्यांक भएको दाबी गरेका छन् । सो गणना अनुसार साबिक प्रोक(चुमनुब्री गाउँपालिका ४) को जनसंख्या पाँचसय ७५ मात्र छन् । घरसंख्या १८७ वटा छन् । त्यतिबेला गणना गर्दा काम बिशेषले सहरमा गएकाहरुको गणना नगरिएको वडाअध्यक्ष लामा बताउँछन् ।
वडाको अतिरिक्त बजेट खर्च गरेर पनि उनले जनगणना गर्ने योजना गरे । यो उनको सेवा गर्ने इच्छाशक्ति प्रसंसनीय छ । उनको काम अनुसरणीय पनि छ । आठबर्षअघिको जनसंख्या देखाएर आठबर्षपछि विकास माग्दा आठबर्षअघि जति आवश्यकता थियो, त्यति पाइन्छ । जसले गर्दा समय सापेक्ष लाभलिन गाह्रो हुने निश्चित छ । त्यसैले जनसंख्या अद्यावधिक गरी सही तथ्यको आधारमा सेवा गर्न सहज हुनेछ । दुर्गमका वडाअध्यक्षको यो काम अनुसरणीय नै छ ।
अधिकांश वडाअध्यक्षहरु जवानहरु छन् । उनीहरुको जोश, जाँगर, रचनात्मकता, सिर्जनात्मकताले जनसेवा प्रभावकारी होओस् ।




