छेकम्पार र चुम्चेतको समस्या समाधान गर
भदौ दुई गते झरेको पहिरोले चुम्चेत र छेकम्पार जाने पदमार्ग क्षतविक्षेत छ । ३८ दिन भयो, ती दुई वडा जाने बाटो अवरुद्ध छ ।
बाटो अवरुद्ध भएका कारण ती क्षेत्रमा दैनिक उपभोग्य अतिआवश्यकीय सामग्री ढुवानी हुन सकेको छैन । यो अबस्थामा त्यहाँको जनजीवन कति प्रभावित भएको छ ? भोग्नेले बाहेकको कल्पना फिका हुन्छ ।
जहाँ चामल छैन, जहाँ नून, तेल छैन, जहाँ साँझ बिहान पिउने चिया, चियापत्ती छैन, चिनी छैन त्यहाँको अबस्था कस्तो होला ? तल्लो भेगका(रोङ्वा)लाई यसको कल्पना गर्ने फुर्सद छैन ।
अहिले हेलिकप्टरबाट चामल लैजाने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एकसय ५० देखि दुईसय क्विन्टल खाद्यान्न ढुवानीका लागि हेलिकप्टरको ब्यवस्था गरिदिन गृहमन्त्रालयमा पत्राचार गरेको छ ।
सडक सञ्जाल नपुगेको त्यहाँ गोरेटोबाटो पनि बन्द भएपछि हेलिकप्टर बाहेक आउजाउ गर्ने, खाद्यान्न लैजाने माध्यम छैन । लामो समयदेखि बाटो अवरुद्ध रहेको र खाद्यान्न अभाव भएको बारे जानकारीपछि प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टरबाट खाद्यान्न पठाउन लागेको हो ।
गृहमन्त्रालयले कुन दिन कति परिमाणमा खाद्यान्न लान सकिने भन्ने बारे यकिन गरेको छैन तर छिट्टै हेलिकप्टर ब्यवस्था हुने जनाएको छ ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले धार्चेको माछाखोला र चुमनुब्रीको सिर्दिबासमा डिपोबाट सहुलियत दरमा चामल बिक्री गरिरहेको छ । तर त्यहाँ छेकम्पार र चुम्चेतबाट फिलिमसम्म चामल लिन आउने बाटो पनि नभएपछि छेकम्पारमा हेलिकप्टरबाट ढुवानी गर्न लागिएको हो ।
यसरी खाद्यान्नको समस्या त केही समयका लागि समाधान होला, तर दीगो समाधान यो होइन । त्यहाँ बाटो खुलाउनु पर्छ । अनि यसअघि झै नियमित रुपमा खाद्यान्न ढुवानी तथा स्थानीयबासी आवतजावत गर्न सक्नेछन् ।




