बारपाक सडकमा ठेकेदारको दीर्घ सुताइ
भूकम्प गएको बर्ष अर्थात २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बारपाक पुगेर दुई बर्षभित्र बारपाकबासीले कालोपत्रे सडकमा सदरमुकाम जान पाउने भाषण गरेका थिए । उनको घोषणापछि तत्काल सो सडकलाई चार वटा प्याकेजमा ठेक्का आव्हान भयो । धमाधम ठेकेदारले काम गर्न थाले ।
तर विडम्बना, कुनै ठेकेदारले पनि निर्धारित समयसीमाभित्र सडक कालोपत्रे सम्पन्न गर्न सकेनन् । लोहनी ब्रदर्श निर्माण कम्पनीले त दुई बर्षको अवधिमा एक मिटर पनि कालोपत्रे गर्न सकेन । अन्यले पनि कताकति गरेर काम अलपत्र बनाए ।
तत्कालीन प्रधानमन्त्रीले बारपाकबासीलाई आश्वस्त पारेको छ बर्ष बित्यो तर अहिलेसम्म जम्मा ७० प्रतिशत मात्र कार्यप्रगति भएको छ ।
सो काम गर्न ११ किलो–छेवेटार–भाँलुस्वारा–बारपाक सडक योजना कार्यालय नै स्थापना गरिएको छ तर काम भने छ बर्ष बितिसक्दा पनि ३० प्रतिशत काम अझै बाँकी छ ।
दुईवटा प्याकेजमध्ये बारकिलोदेखि २२ किलोमिटर परदेखि ३० किलोसम्मको आठ किलोमिटर सडकखण्ड लोहनी एण्ड ब्रदर्स कन्सट्रक्सनले र ३० देखि ४६ किलोमिटरसम्म रसुवा इलाइट सूर्य जेभीलाई ठेक्का दिइएको छ ।
२०७३ सालमा लोहनी एण्ड ब्रदर्स कन्सट्रक्सनसँग सम्झौता भए अनुसार कामको म्याद पूरा भइसकेको छ । तर काम भने जम्मा ७० प्रतिशत मात्र सम्पन्न भएको छ । कूल १० करोड रुपैयाँको बजेटमा करिब ७ करोड भुक्तानी भइसकेको छ । बहाना त ‘कोरोना र बर्खा’ मिलेको छ तर यो त मिथ्या बहाना हो ।
तर खास काम पूरा नहुनुको कारण ठेकेदारको ‘काम अलपत्र पार्दै जाने, ठेक्का लिँदै जाने गलत प्रवृत्ति’ले गर्दा हो ।
जबसम्म नेता, मन्त्री, कर्मचारीको हात तल र ठेकेदारको हात माथि हुन्छ यस्तो समस्या जीवित रहिरहन्छ मात्र होइन, मौलाउँदै जान्छ ।




