राजनीतिक गतिविधि बढ्यो, सतर्कता आवश्यक
अहिले धमाधम राजनीतिक बढिरहेको छ । १४ औँ महाधिवेशन नजिकिदै गर्दा नेपाली काङ्ग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) को पनि धमाधम सम्मेलन सुरु भएको छ ।
नवगठित नेकपा(एकीकृत समाजवादी)को पनि धमाधम जिल्ला समिति, नगर तथा गाउँ समिति गठन भएका छन् । वडा समिति पनि बन्ने क्रममा छन् ।
नेपाली काङ्ग्रेसको आउँदो २७ गते नगर तथा गाउँ अधिवेशन हुँदैछ । प्रदेश सभाको क्षेत्रीय अधिवेशन असोज १ गते हुदैछ भने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ५ गते हुदैछ । त्यस्तै जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुदैछ भने केन्द्रीय महाधिवेशन मंसीर नौ गतेदेखि १२ गतेसम्म हुदैछ ।
त्यस्तै माओवादी केन्द्रको पनि भदौ महिनाभरि पार्टी सदस्यता नवीकरण, असोज ३ देखि ८ गतेसम्म सेल समिति गठन गर्दैछ । असोज १० देखि टोलसमिति, असोज २० गते वडा सम्मेलन, मंसीर ६ गते पालिका सम्मेलन, मंसीर १५ गते प्रदेश सम्मेलन र मंसीर ११, १२, १३ गते राष्ट्रिय सम्मेलन गर्दैछ ।
राजनीतिक गतिविधिका कारण गाउँका भट्टीपसलदेखि सहरका तारेस्तरका होटलसम्मको चहलपहल बढाउँछ । जति चहलपहल बढ्यो, उति कोभिड महमारी चम्किन्छ । यो स्वयंसिद्ध तथ्य हो ।
राजनीतिकर्मी भनेका समाजका अगुवा, जवाफदेही, जिम्मेवार व्यक्ति हुन् । उनीहरुले समुदायमा फैलिएको कोरोना महामारी नियन्त्रणमा अहम् भूमिका निर्वाह गर्नुपर्छ । बढाउने काम त झन् गर्नै हुदैन ।
घट्दै गएको कोभिड राजनीतिक गतिविधिका कारण कोभिड फैलियो भने यसको जिम्मेवार राजनीतिक दल हुनेछन् । त्यसैले राजनीतिक गतिविधि गर्दा पूरापूर रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।




