मोैरी पालन प्रर्वधन गरौं
मान्छेको असाध्यै मित्रकिरा, अधिक लाभदायक मध्य पर्छ मौरी । मिहिनेतीको पर्याय र महजस्तो सर्वगुणसम्पन्न खाद्यबस्तु उत्पादन गर्ने मौरी पालनबाट किसानले अधिक लाभ लिनसक्छन् ।
मौरीपालनका लागि किसानले अन्य पशुपालन, कृषिबालीलाई जत्तिकै तन, मन, धन खर्चनु पर्दैन । हेलचेक्र्याईँ गर्नुपर्छ भन्ने अर्थमा होइन, तर सजिलैसँग मौरी पालन गर्न सकिन्छ ।
सजिलोसित पालन गर्न सकिने र धेरै लाभ लिन सकिने भएकाले कृषि ज्ञानकेन्द्रले मौरीपालनलाई जोड दिएको छ । केन्द्रले खेर गएको २१ रोपनी जमिनमा मौरी स्रोतकेन्द्र निर्माण गर्ने कार्यक्रम बनाएको छ ।
ज्ञानकेन्द्रको नाममा गोरखा नगरपालिका ७ मान्द्रेढुङ्गामा रहेको उक्त जग्गामा यसवर्ष स्रोतकेन्द्र बनाउन ५० लाख रुपैयाँ बजेट खर्च गर्न लागेको छ ।
सो ठाउँमा रहेको २१ रोपनी जग्गा यसअघि प्रयोगबिहिन थियो । ज्ञानकेन्द्रले त्यहाँ मौरी स्रोतकेन्द्र स्थापना गर्न योजना बनाएका पठाएका थियो । कार्यक्रम स्वीकृत भएर बजेट आएको छ ।
अब त्यहाँ मौरीको घार तयार गर्ने, गोला वृद्धि गरेर किसानलाई अनुदानमा बितरण गर्ने योजना ज्ञानकेन्द्रको छ । मौरी स्रोतकेन्द्रबाहेक टनेल निर्माण, स्क्रिन हाउस, नर्सरी पनि संचालन गरिनेछ ।
यसअघि कृषिज्ञानकेन्द्रमा मौरी पालन प्रवद्र्धन गर्ने खालका कार्यक्रम खासै थिएनन् । अब मौरीपालनतर्फ मोह भएका किसानलाई सजिलैसित मौरी पालन गर्न सक्ने अबस्था सिर्जना गर्ने कृषि ज्ञानकेन्द्रको लक्ष्य छ ।
घरघरमा मौरी पालन भएमा गोरखा महमा आत्मनिर्भर हुनसक्छ । आफूले मात्र उपयोग नगरी निर्यात गरेर आर्थिक उपार्जनसमेत गर्न सकिनेछ । त्यस्तै मौरीबाट परागसेचन हुने हुँदा प्राकृतिक सन्तुलनमा पनि मद्धत पुग्नेछ ।
यहाँ मौरी पालन व्यवसाय अधिक भयो भने छिमेकी जिल्लाले समेत देखासिकी गर्न सक्छन् । अर्थात यसले मौरी पालन व्यवसायलाई देशव्यापी बनाउन सक्छ ।




