| सोमवार, कार्तिक २३, २०८३

इपिसेण्टरकै दलित अहिलेसम्म पुनस्थापित हुन सकेनन्

इपिसेण्टर थलोको नाममा बारपाकले धेरै विकास निर्माणका योजनाहरु पायो । इपिसेण्टर जिल्लाको नाममा गोरखा जिल्लाले पनि धेरै लाभ लिन पायो तर इपिसेण्टर बारपाककै दलित समुदाय अहिलेसम्म च्यातिएका, फाटेका त्रिपाल तथा जस्ताको टहराभित्र छन् ।
पिछडिएको समुदायलाई मूल धारमा ल्याउने उद्देश्यले सरकारले दलित समुदायलाई हरेक कुरामा पहिलो प्राथमिकता दिने गरेको छ । तर बारपाकको पुनर्निर्माणमा दलित समुदाय ओझेलमा परेको बिषयमा कसैले चासो दिएका छैनन् ।
उनीहरुले छ बर्षदेखि जस्ताले छाएको, जस्ताले बारेको टहरोभित्र कष्टकरण जीवन विताइरहेका छन् । गर्मीका बेला चरम गर्मी, जाडोका बेला बिरामी हुने गरी जाडो बनाउने, हावाहुरीका बेला टहरो उँडाएर सास्ती दिने संकटै संकटमा छ बर्ष गुजारिरहेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि समाप्त भयो । प्राधिकरणका जिल्लाभित्र रहेका संरचनाहरु पनि हट्न थालेका छन् । तर बारपाकका दलितहरुले घर बनाउने ठाउँको अभावमा अहिलेसम्म पुनर्निर्माण प्रक्रियामा जानै सकेका छैनन् । पुनर्निर्माणको सरकारी कार्यक्रम समाप्त हुने अबस्था भइसकेको छ तर दलित समुदायले बस्ती बसाल्ने ठाउँको अभावमा कष्टकर जीवन गुजारिरहेका छन् ।
दलित बस्तीका बिषयमा स्थानीयस्तरको राजनीति भएको छ ।
भूकम्पले घर भत्कियो । घर रहेको जग्गा जमिन पनि पहिरोले लगायो । त्यसपछि भागेर दलित समुदाय आरसियूपी नामक गैरसरकारी संस्थाले क्याम्प बनाएको ठाउँमा आएर झुप्रो बनाएर बस्न थालेका थिए । उनीहरुको माग भनेको नै बसिरहेको ठाउँको घडेरीको लालपूर्जा पाउनु पर्छ भन्ने थियो तर सरकारले यस्तो निर्णय गर्न सकेन ।
पहिरोको जोखिमका कारण देखाउँदै पुरानो थलोमा जान दलित समुदाय मान्दैनन् । बसिरहेको ठाउँको लालपूर्जा दिन सरकार मान्दैन । अबस्था यसरी नै गुज्रिरहेको छ । दुवैथरीले आ–आफ्ना अडान नछाड्ने हो भने मध्यमार्गी बाटो अपनाएर दलित समुदायलाई यथासीघ्र पक्की घरमा सार्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्