| सोमवार, कार्तिक २३, २०८३

थुमीको गुठी जग्गा समस्या समाधान गर

नेपाल राजतन्त्रमुक्त भएको १३ बर्ष भएको छ । २०६५ साल जेठ १५ गतेको संविधान सभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो ।
राजतन्त्र अन्त्य भएसँगै राजा वा राजाका आफन्तहरुको नाममा रहेका जग्गा, जमिन तथा गुठीका संरचनाहरुलाई नेपाल ट्रष्टमा ल्याउने निर्णय गरेको थियो ।
तर गोरखाको सिँगै थुमी गाविसका भूभाग राजसंस्थाको नाममा अद्यपि छ । गुमी गाविस तथा अप्रिकका जग्गाहरु श्री ५ को वायुगुठीको नाममा छन् । आर्खेत बजार तथा ढुंगेफाँटको जग्गा राजाका आफन्त लिलाविक्रम शाहको नाममा छ ।
जग्गा किसानले कमाइरहेका छन्, तर लालपूर्जा श्री ५ को वायुगुठी तथा लिलाविक्रमको नाममा छ । उब्जनी त किसानले पाइरहेका छन्, समस्या छैन, तर जग्गाका मालिक किसान छैनन् । आवश्यक परेका बेला जग्गा वैँकमा राखेर कर्जा लिन मिल्दैन ।
पहिलो एजेण्डा त राजा तथा उनका आफन्तका नाममा रहेका गुठी जग्गाहरुलाई नेपाल ट्रष्टको नाममा लैजाने निर्णय थियो, तथापि यहाँ यो कार्यान्वयन हुन सकेको छैन । अर्को कुरा ढुंगेफाँट र आर्खेतको जग्गा त राजपरिबारको नाममा छ । अझै मार्मिक कुरा के भने, किसानले आफ्नो जायजेथा वैँकमा राखेर कर्जा झिक्न पाएका छैनन् ।
यसका विरुद्ध स्थानीयवासीले पटक पटक अभियान चलाएका छन् । २०७० सालमा सबै किसानहरुले लालपूर्जा लगेर गुठी संस्थानमा बुझाएका थिए । तैपनि संस्थानले समस्या दीगो समाधान गर्न सकेन । अल्पकालीन समाधान गरी पठायो । जनप्रतिनिधिहरुले पनि पहल गरेका थिए, तर कुनै निर्णय हुन सकेन ।
किसानको यो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण हुनुपर्छ । स्थानीय, जिल्लास्तरका, प्रदेश र केन्द्रीय नेताहरुले यसका बारेमा बहश पैरवी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्