सञ्जिवनी र छिम्केश्वरी पानी गोरखाको बजारमा देखिए
पानीको बोत्तलभित्र पंक्षीको प्वाँख देखिएपछि छिमेकी जिल्ला तनहूँको आँबुखैरेनीबाट उत्पादित सञ्जिवनी र छिम्केश्वरी ब्राण्डका पानी गोरखा बजारमा बिक्रीमा रोक लगाइएको छ । क्षेत्रीय खाद्य सुरक्षा तथा गुण नियन्त्रण कार्यालय भैरहवाले ती ब्राण्डका पानी पिउनका लागि अयोग्य पुष्टि गरेपछि जिल्ला प्रशासन कार्यालयले गोरखा बजारमा ती पानीको बिक्री बितरणमा रोक लगाएको हो । प्रशासन कार्यालयले गोरखा उद्योग वाणिज्य संघ तथा उपभोक्ता हित संरक्षण मञ्चलाई समेत यस निर्णयलाई कार्यान्वयन गर्न गराउन पत्राचार गरेको छ ।
तर गोरखाका केही होटलहरुमा यो ब्राण्डका पानी बिक्री बितरण हुने गरेको भेटिएको छ । पानीको जार बिक्री हुने पसलहरुमा पनि सञ्जिवनी ब्राण्डको पानी बिक्री भइरहेको भेटिन्छ । यो तथ्यले जिल्ला प्रशासन कार्यालयको निर्णयलाई ठाडै उल्लंघन गरेको अनुभूति हुन्छ ।
निर्णय गरेर छोड्दा कार्यान्वयन पक्ष फितलो हुने र निर्णय गर्ने निकाय नै अपमानित हुने हुँदा निर्णय गर्ने निकायले कार्यान्वयन पक्ष कत्तिको सबल छ भनेर अनुगमन पनि गर्नुपर्ने हुन्छ । अन्यथा डुंगाले हिड्दै, पाइला मेट्दै गरेको जस्तो हुन्छ ।
जिल्ला प्रशासन कार्यालयसंग जिल्ला अनुगमन समिति पनि छ । समितिलाई बेला बेला बिजनेश दिनु पनि पर्छ । यो बेला हालै गरिएको निर्णय कार्यान्वयन गर्ने बेला हो, तसर्थ यो बेला अनुगमन गर्दा नियमित काम पनि पूरा हुनेछ भने हालैको निर्णय कार्यान्वयन भएको कि भएन भनेर अनुगमन पनि हुनेछ ।
साथै बजारमा अनुमति नपाएका पसलहरुले मदिरा तथा सुर्तीजन्य सामान पनि बिक्री बितरण गरिरहेका छन् । यसलाई नियन्त्रण गर्न पनि अनुगमनले सहज बनाउनेछ ।




