दुर्गममा खाद्यान्न ढुवानी सहज बनाउ
उत्तरी गोरखामा उत्पादित खाद्यान्नले तीन महिना मुस्किले गुजारा चल्छ । बाँकी नौ महिना त्यहाँका स्थानीयले बजारबाट खाद्यान्न किनेर उपभोग गर्छन् । भौगोलिक दृष्टिकोणले उच्च हिमाली भेगमा पर्ने उत्तरी गोरखामा अन्नबाली ढिलो उत्पादन हुन्छ । हावापानी र जमिनका कारण फापर, आलु, जौ जस्ता सिमित बालि मात्रै लाग्छ । दुर्गम भेगका नागरिकका लागि सहज रुपमा खाद्यान्न आपूर्ती गर्न भन्दै सरकारले अन्यत्र जस्तै उत्तरी गोरखामा सहुलियतको चामल पठाउँदै आएको धेरै समय भयो ।
धार्चेको माछाखोला डिपोमा अनुदानको चामल कम बिक्री हुन्छ । सिर्दीबास फिलिम डिपोमा सडक पुगेको छैन । त्यहाँ चामलको माग पनि धेरै र बिक्री पनि धेरै हुन्छ । तर यी दुई डिपोमा खाद्यान्न ढुवानीको ठेक्का भने जहिल्यै ढिलो लाग्छ । कारण त्यहाँ ढुवानी गर्ने सिमित ब्यवशायी छन् । उनीहरु खाद्यान्न ढुवानी गर्न सहज नभएको, खच्चडबाट लैजानुपर्ने, बाटोमा सड्ने डर हुने कारण देखाउँछन् । ढुवानीको दररेट परिर्वतन गर्नुपर्ने माग पनि उनीहरुको छ । यस्ता बिभिन्न कारणले यस वर्ष पनि बोलपत्र आह्वान त भयो तर ठेक्का लागेन । यो समस्या हरेक वर्ष जसो हुन्छ ।
ठेक्का लागिहाल्यो भनेपनि निर्धारित कोटा ढुवानी हुन मुस्किल छ । कोटा अनुसार ढुवानी नहुँदा खाद्यान्न अभाव हुन्छ । कुनै समयमा कोटा थपेर पनि ढुवानी गर्नु परेको छ । यस पटक जस्तो बाढीपहिरोले बाटो अवरुद्ध भयो भने खच्चड हिड्ने संभावन पनि हुँदैन । गाडी, खच्चडबाट ढुवानी असंभव भएपछि हेलिकप्टरबाट खाद्यान्न उत्तरी गोरखामा लगियो ।
सरकारले मौसम अनुकुल भएको बेला वर्षभरीको डिपो अनुसारको खाद्यान्नको मात्रा हेलिकप्टरबाट ढुवानीको ब्यवस्था गर्ने हो भने उत्तरी गोरखामा बर्खाको बेला सँधै खाद्यान्न हाहाकार हुने थिएन । र सँधै टेण्डर लागेन, कोटा अनुसार ढुवानी भएन भन्ने चिन्ता पनि हराउने थियो । स्थानीयले सहजै खाद्यान्न उपभोग गर्न पनि पाउने थिए । यसतर्फ कम्पनीको कार्यालय, गाउँपालिका, जिल्ला प्रशासन लगायतका जिम्मेवार अड्डाको पहलकदमी आवश्यक छ ।




