चुम्चेत र छेकम्पारमा पनि नागरिकता अभियानको खाँचो
केही दिनअघि सीमा प्रशासन कार्यालय सिर्दिबासका कार्यालय प्रमुख रामचन्द्र शर्मासहितको टोलीले सुदूर उत्तरी गोरखाका विभिन्न गाउँमा पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरे ।
आर्थिक अभावका कारण तथा कामको चापका कारण सदरमुकाम वा सीमा प्रशासन कार्यालय पुग्न नसकेर नागरिकता पाउनबाट बञ्चित भएका वृद्धवृद्धा तथा युवाहरुलाई नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता नहुँदा बुढेसकालमा वृद्धभत्ताबाट बञ्चित भएकाहरु नागरिकताको प्रमाणपत्र हातमा परेपछि नाचेर रमाइलो मनाएका छन् । कोहीले हातमा नागरिकता पाएपछि सयचोटी भन्दा धेरै ढोगेर खुशी व्यक्त गरेका छन् ।
वृद्धभत्ताको मोह जोसुकै वृद्धवृद्धालाई हुन्छ । चाहे त्यो शहरबजारका वृद्धवृद्धा हुन्, चाहे विभिन्न ओहोदाबाट निवृत्त भएका पेन्सनवाला नै किन नहोउन्, वृद्धभत्ताको धेरै महत्व हुन्छ । कुनै बेला सरकारले पेन्सनवालालाई वृद्धभत्ता(दोहोरो सेवा) नदिने घोषणा गरेको थियो, त्यतिबेला उनीहरु आन्दोलित भएका थिए ।
झन्, सदूर दुर्गमका बासिन्दामा यो भत्ताको मोह ज्यादा हुनु स्वभाविकै भयो । तथापि नागरिकता नहुँदा भत्ताबाट बञ्चित हुनुपर्दा उनीहरु धेरै पीडा सहेर बसेका थिए । तर नागरिकता पाएपछि उनीहरुले वृद्धभत्ता पाउने भएका छन् ।
चुमनुब्रीको वडा नं. १, २, ४ र ५ मा घरघरमा नागरिकता दिँदा जसरी सबै खुशी भए, यस्तो अबस्था वडा नं. ६ र ७ मा पनि छ । वडा नं. ६ झन धेरै दुर्गम र पिछडिएको वडा हो । यहाँ पनि घरदैलो अभियान सञ्चालन गरेर सीमा प्रशासन कार्यालयले नागरिकता दिनु धेरै खाँचो छ ।
यसका लागि स्थानीय सरकारले पनि सहयोग र समन्वय गर्नुपर्छ । जसरी वडा नं. १, २ ४ र ५ ले व्यवस्थापकीय दायित्व बहन गरे, अन्यत्र पनि यस्तै गरी नागरिकता दिने व्यवस्था मिलाउनु पर्छ ।




